नेपालगन्ज: वेस्टर्न हस्पिटल नेपालगन्जद्वारा आयोजित नि:शुल्क श्रवण जाँच शिविरमा रेरी बाँकेका बालबालिका सहित ५३ जनाले स्वास्थ्य लाभ लिएका छन्। विश्व श्रवण दिवसको अवसर पारी हस्पिटलको नाक,कान,घाँटी विभागले निःशुल्क श्रवण जाँच शिविरको आयोजना गरेको थियो ।
शिविरमा वरिष्ठ नाँक, कान, घाटी तथा हेड एण्ड नेक सर्जन डा.रवि स्वाँर त्यस्तै अडियोलोजीमा तालिम प्राप्त पवन कैराती लगायत अन्य स्वास्थ्यकर्मीहरुले उपस्थित विरामीहरुको श्रवण जाँच तथा आवश्यक परामर्श प्रदान गर्नुभएको थियो ।
शिविरमा अधिकांश बच्चाहरुमा जन्मजात सुनाइ नभएर बोली पनि नआएको पाईएको डा.स्वारले जानकारी दिनुभयो । उहाँले आफ्नो श्रवण शक्तिमा कमी आएको महसुस भएमा समयमा परीक्षण तथा उपचार गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।
श्रवणशक्तिमा कमी हुनुका प्रारम्भिक लक्षण धेरै स्पष्ट छैनन्, तर श्रवणशक्तिमा कमी आउने क्रम समयसँगै हुँदै जान्छ । सामान्य कुराकानी सुन्न कठिनाइ, कुराकानीमा बारम्बार के भनेको भन्दै सोध्नुपर्ने अवस्था, फोनमा आवाज सुन्नमा कठिनाइ, प्राकृतिक आवाज जस्तै, वर्षा वा चराहरूको चहलपहल सुन्न नसक्नुजस्ता श्रवणशक्ति कम हुँदै जानुको संकेत हुन् ।
यस्ता समस्या देखिए समयमै उपचारको पहुचमा पुग्न डा.स्वाँरले अनुरोध गर्नुभएको छ ।