नेपालगन्जः मौसम परिवर्तन, धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले गर्मी मौसममा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । अन्य मानिसको तुलनामा बालबालिकालाई गर्मीले बढी सताउने गर्छ । गर्मी याममा तापक्रम वृद्धिसँगै प्रदूषण तथा धुवाँ–धुलो बढ्दै जान्छ । गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्ने गर्छन् । जसका कारण बालबालिकामा विभिन्न सङ्क्रमण हुने सम्भावना बढेर जाने बाल रोग विशेषज्ञ डा.रामहरि चापागाईँ बताउनुहुन्छ ।
‘बिस्तारै–बिस्तारै हामी जाडो मौसमलाई छोडेर गर्मी मौसममा प्रवेश गर्दै छौँ । यो मौसममा एलर्जी, छालासम्बन्धी रोग बढी देखिन्छन् । यो समयमा शरीर सुक्खा हुने, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी नै हुन्छ । यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिसको समस्या देखिन्छ’चापागाईँ बताउनुहुन्छ ।
पछिल्लो समय बालबालिकामा भाइरल ज्वरो, रुघाखोकी, जन्डिस, पसिनाले गर्दा शरीरमा डाबर, निमोनिया, श्वासप्रश्वास, झाडापखाला वान्तालगायतका स्वास्थ्य समस्या लिएर अस्पतालमा आउने गरेको डा चापागाईँ बताउनुहुन्छ । गर्मी मौसममा यस्ता समस्या खानेकुराबाट हुने हुँदा सकेसम्म पानी उमालेर खाने र बासी खानेकुरा नखान उहाँको सुझाव छ । यस्तै, दुई वर्ष मुनिका बालबालिकालाई नाक बन्द हुने, रुघा लाग्ने, निमोनिया हुने र श्वासप्रश्वासमा समस्या देखिने हुँदा यस्ता बच्चालाई विशेष ध्यान दिन अभिभावकलाई डा. चापागाईँको आग्रह छ । बढ्दै गरेको तापक्रमले तराइ लगायत काठमाडौं उपत्यकामा समेत बालबालिकामा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या आउने गरेका छन् ।
गर्मी मौसममा अन्य समयभन्दा तुलनात्मक रूपमा ब्याक्टेरियाको सङ्क्रमणबाट हुने छालाका समस्या बढी देखिने डा रामहरि चापागाईँको भनाइ छ । श्वासको गति धेरै भएमा, कोखा हानेमा, बच्चा एकदमै सुस्त भएमा, शरीर निलो भएमा खतराको लक्षण हो भनेर बुझ्नुपर्छ र तुरुन्तै अस्पताल लैजानुपर्छ । डा.चापागाईँका अनुसार सामान्य रुघाखोकी लागेमा, सामान्य ज्वरो आएमा भने प्यारासिटामोल लगायतका सामान्य औषधिले घरमै पनि ठिक पार्न सकिन्छ । वान्ता गरेमा, पखाला लाग्ने, उच्च ज्वरो आएमा घरमै बस्नु हुँदैन, अस्पताल लैजानुपर्छ । सामान्य पखाला लागेमा घरमै जीवनजल पानी खुवाएर उपचार गर्न सकिन्छ ।
घरमा जीवनजल नभएमा तीन चम्चा नुन, अलिकति चिनी र तीन गिलास पानी घोलेर खान दिनु पर्छ । नुन र चिनीको मात्रा नमिलाएको भनेर विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो समय यसलाई मान्यता दिएको छैन, जीवनजल नै बनाएर खुवाउनुपर्छ भनेको छ । तर केही छैन भने विकल्पमा नुन, चीनी र पानीको मात्रा मिलाएर बालबालिकालाई खुवाउनुपर्ने डा. चापागाईँको भनाइ छ । बालबालिकाले जीवनजल पानी पिउन सकेन, लगातार वान्ता गर्यो भने नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा लगेर उपचार गर्न समेत उहाँको सुझाव छ।
डा.चापागाईँका अनुसार घरमा जतिसुकै सफा गरे पनि खानेपानी आउने धारोमा फोहर छ भने त्यसले समस्या निम्त्याउँछ । झाडापखाला, जन्डिस लगायतका रोगहरू पानीजन्य सङ्क्रमणका कारण पनि हुने गर्छन्, त्यसैले पानीका मुहानहरू सफा गर्नुपर्छ । व्यक्ति, समाज र वातावरण सबै सफा राख्नुपर्छ । ‘फोहर र सडेगलेका खानेकुराहरू खानु हुँदैन । घरबाहिर हिँड्दा मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, भिडभाडमा नजाने गर्नुपर्छ,’ डा.चापागाईँ भन्नुहुन्छ, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पोषण, व्यायाम र निद्रा हो । यी कुरालाई सन्तुलनमा राख्न सकियो भने धेरै रोगबाट बच्न सकिन्छ ।’