अभिभावकले बालबालिकाको अल्छीपनलाई सामान्य विषयका रूपमा लिनुहुँदैन । गलत अभिभावकत्व, खराब तथा मनोसामाजिक समस्याका कारण बालबालिकामा अल्छीपन निम्तिएको हुन सक्छ । लर्निङ डिसअर्डर (सिकाइमा अवरोध), डिस्लेक्सिया (अपठन), डिप्रेसन, आत्तिने समस्या, अनिद्रा, कुलतलगायत कारणले पनि बच्चा अल्छी भएका हुन सक्छन् । अभिभावकसँगको अन्तर्द्वन्द्व, हिंसाजस्ता पक्ष पनि कारक हुन सक्छन् ।
तसर्थ, बालबालिकाको अल्छीपनको कारण पत्ता लगाउने र उनीहरूलाई सक्रिय रहन प्रेरित गर्नुपर्छ । यसका लागि पहिले अभिभावकले नै आफूलाई उदाहरणका रूपमा पेस गर्नुपर्छ । बालबालिकालाई निर्देशन वा उपदेश दिएर मात्र उनीहरूको अल्छीपन कम गर्न सकिँदैन, उचित वातावरण तयार गर्नुपर्छ ।
अभिभावकले बालबालिकाप्रति आशा र अपेक्षा राख्नु नराम्रो होइन । तर, हामीले राख्ने अपेक्षा सन्तुलित र प्रस्ट हुनुपर्छ । हाम्रा आशा पूरा हुँदा उनीहरूलाई प्रशंसा गर्नुपर्छ, आशा पूरा नहुँदा पनि उनीहरूलाई सुधारका निम्ति प्रेरित गर्नुपर्छ । यसले उनीहरूको आत्मविश्वास बढेर जान्छ । आत्मविश्वास अल्छीपनका लागि ठूलो उपचार हो ।
उनीहरूलाई घरेलु काममा पनि सहभागी गराउने गर्नुपर्छ । भान्साको काम, करेसाबारी, कपडा धुने, सरसफाइजस्ता कार्यमा सहभागी गराउनुपर्छ । यसले उनीहरूको सहभागितामूलक सीप बढेर जान्छ । यो सिकाइलाई अभिप्रेरित गर्ने राम्रो माध्यम पनि हो । यसले उनीहरूको जीवनलाई हेर्ने शैली पनि परिष्कृत हुन्छ । कतिपय अभिभावकले बालबालिकाको सानो काम पनि आफैँ गरिदिने गर्छन् । त्यस्तो गर्दा केटाकेटी आत्मनिर्भर हुन सक्दैनन्, बरु अल्छी हुन्छन् । त्यसैले बालबालिकालाई उमेरअनुसार आफ्नो काम आफैँ गर्न दिनुपर्छ ।
अभिभावकले आफ्नोतर्फबाट प्रयास गर्दा पनि उनीहरूको अल्छीपन समाधान भएन भने बालबालिकालाई मनोपरामर्शका लागि प्रेरित गर्नुपर्छ । उचित मनोपरामर्शद्वारा अल्छीपन समाधान गर्न सकिन्छ । हिजोआज मोबाइल, टिभीमा भिडियो गेम तथा स्क्रिनको बढी प्रयोगका कारण बालबालिकाको घरबाहिरको क्रियाकलाप घटेको छ । जसकारण उनीहरूको इच्छाशक्तिमा ह्रास आउँदै छ र अल्छीपन बढेको छ । हामीले यसको प्रयोग सीमित गर्नुपर्छ ।