नेपालगन्जः मुखको क्यान्सर ओठ, मुख वा घाँटीको माथिल्लो भागमा लाग्ने क्यान्सर हो । पान, सुपारी, चुरोट, बिँडीको अत्यधिक प्रयोगका कारण क्यान्सर देखिने गरेको छ । सुर्तीजन्य पदार्थको उपभोगले मुखको क्यान्सरको जोखिम ३.५ देखि सात गुणासम्म बढाउँछ । नेपालमा करिब सात प्रतिशत मानिसमा क्यान्सरपूर्वको अवस्थाको मुखको समस्या छ ।
सुर्तीमा क्यान्सर गराउने तत्व कार्सिनोजेन हुन्छ । यस्तो कार्सिनोजेनले कोषमा रहने डीएनएलाई असर गरी क्यान्सर निम्त्याउँछ । धेरैथरीका क्यान्सरको कारक तत्त्वका रूपमा रहेको सुर्तीजन्य पदार्थको प्रचारप्रसार तथा बेचबिखनले पनि क्यान्सरको समस्या उल्लेखनीय वृद्धि गराएको छ ।
एसिया क्षेत्रमा मुख्य क्यान्सरहरूमध्ये एक हो मुखको क्यान्सर र यो ५० देखि ५५ वर्ष उमेरका पुरुषमा बढी हुने गरेको छ । मुखको क्यान्सरबाट प्रताडितमध्ये ९० प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ खाने गरेको देखिन्छ ।
अन्य हानिकारक वातावरणीय तत्त्वसरह सुर्ती उपभोगबाट मुखको क्यान्सर हुन सुर्तीको प्रकार, उपभोगको तौरतरिका, उपभोग गर्न थालेको अवधि, साथमा प्रयोग गरिने अन्य तत्वमा भर पर्दछ । त्यसैले मुखको क्यान्सरको हकमा चुरोट भन्दा धुवाँरहित सुर्तीजन्य पदार्थ तथा त्योभन्दा खैनी बढी हानिकारक मानिन्छ ।
सुर्ती निरन्तर खानाले ओठ, मुखभित्र मात्र नभई शरीरका सबैजसो अंगको कमलो सतह (झिल्ली)लाई निरन्तर प्रभाव पारेर क्यान्सर उत्पन्न हुन सक्छ । सुर्तीजन्य पदार्थका साथै नियमित, बढी मात्रामा एवं लामो समयदेखिको मद्यपानले पनि मुखको क्यान्सरको जोखिम बढाउँछ । धूमपान र मद्यपानले मुखको क्यान्सर १५ गुणा बढाउँछ । मुखको क्यान्सरबाट बच्न सरकारले आग्रह गरेको छ ।
मुखको क्यान्सरका लक्षण
मुखको क्यान्सरको कुनै यही नै चिन्ह वा लक्षण हुन्छ भनेर भन्न नसकिए पनि साधारणता निम्न लक्षण देखिन्छन्
– मुखमा दाग, धब्बा वा पत्र देखिनु
– स्वाद फरक पाउनु
– घाँटीमा गिर्खाहरू देखा पर्नु
– नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु
– अस्वभाविक रक्तस्राव हुनु
– मसलादार खाना खाँदा पोल्नु
– खान, निल्न, पिउन अप्ठ्यारो हुनु
– घाउ, खटिराको आकार बढ्दै जानु
– र्याल बढी आउनु
– खान, निल्न, पिउन अप्ठ्यारो हुनु
रोकथामका उपाय
-सूर्तीजन्य पदार्थको सेवन नगर्ने
– मद्यपान नगर्ने
– संक्रमणको उपचार गर्ने
– दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहने
– राम्रोसँग मुखको सफाई गर्ने, बेलाबेलामा कुल्ला गर्ने
– दाँतको समस्याको बेलैमा उपचार गर्ने
– सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने
– अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआउने ।