कैलाली: कैलालीको टीकापुर स्थित टीकापुर अस्पतालमा चार वर्षको अन्तरालमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया उपचार सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो।
अस्पतालमा हरेक महिना झण्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले बताउँनुभयो । यस्तै अस्पतालमा सातामा तीन\चार महिलाको पाठेघरको शल्यक्रिया समेत हुने गरेको छ ।
डा. दासका अनुसार पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा प्रदान गर्ने गरिएको छ । ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठ जनाको शल्यक्रिया गरिएको उहाँले बताउँनुभयो। अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन् ।
अस्पतालमा उृपचारका लागि जोशीपुर, भजनी, जानकी र बर्दियाका केही पालिकाबाट समेत बिरामीहरु आउने गरेका छन् । उपचार सहजरुपमा पाइन थालेपछि अस्पतालमा बिरामीको चाप समेत बढेको छ ।