नेपालगन्जः बाँकेमा हालसम्म ९४.६ प्रतिशत बालबालिकाले दादुरा–रुबेला रोग विरुद्धको खोप लगाएका छन् । फाल्गुन १३ देखि चलेको खोप अभियान अन्तर्गत पाँचौ दिनसम्म १ लाख ५६ हजार ६१० जना बालबालिका अर्थात ९४.६ प्रतिशतले खोप लगाएका हुन् ।बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ ।
हालसम्म कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिमा लक्ष्य भन्दा बढी बालबालिकाले खोप लगाएका छन् । कोहलपुरमा १३०.६ प्रतिशत, खजुरा गाउँपालिकामा ११०.७ र बैजनाथ गाउँपालिकामा १०२.५ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । अन्य पालिकाहरुको तुलनामा नेपालगन्ज, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा भने खोप लगाउनको संख्या कम देखिएको छ ।
राप्तीसोनारीमा ९६.७ र डुडुवामा ६२.८ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभयो । यस्तै जानकीमा ७६.८ र नेपालगन्जमा ७७.२ प्रतिशत बालबालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएका छन् । यस्तै नरैनापुरमा ६२.८ प्रतिशतले खोप लगाएका छन् । ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । खोप अभियान फाल्गुन ३० गतेसम्म जारी रहनेछ ।