नेपालगन्जः स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले महिनावारी गडबढी, पाठेघरको मुखको क्यान्सर लगायतका बिषयमा जानकारी गराइरहदा किशोरी (छात्रा)हरु ध्यानपूर्वक सुनिरहेका थिए ।
महिनावारी गडबढी, रक्तस्राव कम हुँदा र बढी हुँदाको जोखिम, अपनाउनु पर्ने सावधानी, पाठेघरको मुखको क्यान्सरको जोखिम, यसका लक्षणलगायतका बारेमा डा. सुवेदीले ९ देखि १२ कक्षामा अध्यनरत छात्राहरुलाई जानकारी दिनुभयो । त्यसपछि छात्राहरुले खुलेर प्रजनन् स्वास्थ्यबारे आफ्नो अनुभूति र जिज्ञासाहरु डा. सुवेदीसमक्ष राख्दै गए । डा.सुवेदीले त्यसको प्रतिउत्तर दिँदै जानुभयो । करिव एक घण्टासम्म विद्यार्थी र डा.सुवेदीबीच अन्तर संवाद भयो । विद्यार्थीहरुले भने–‘समयमै उपचार पाउने हो भने पाठेघरको मुखको क्यान्सर सन्चो हुने रहिछ ।’
बर्दियाको बासगढी नगरपालिका वडा नं. ८ स्थित त्रिभुवन सामुदायिक पुस्तकालयले आज पाठेघरको मुखको क्यान्सर तथा स्त्रीरोगका विषयमा आयोजना गरेको परामर्श तथा सचेततामुलक कार्यक्रममा डा.सुवेदीले पछिल्लो समय महिलाहरुमा पाठेघरको क्यान्सर रोगको जोखिम असाध्यै बढेकाले त्यसको नियन्त्रणका लागि सचेत हुन सुझाव दिनुभयो । उहाँले आफ्ना हजुर आमा, आमा तथा दिदीहरुलाई समयमै पाठेघरको मुखको क्यान्सर चेकजाँच गर्न सुझाएर सचेत पार्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । पछिल्लो समय महिला मृत्युको प्रमुख कारण पाठेघरको क्यान्सर बन्दै गएको डा.सुवेदीको भनाइ छ ।
सामुदायिक पुस्तकालयका अध्यक्ष यज्ञबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बासगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले महिलाहरुमा जटिल समस्या बन्दै गएको पाठेघरको मुखको क्यान्सरबारे सबैलाई सचेत पार्न जरुरी रहेको बताउनुभयो । उहाँले पालिकाले पनि यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर स्वास्थ्यमा महिलाहरुको पहुँच स्थापित गर्न लागि परेको बताउनुभयो ।
वडा नं.८ का वडा अध्यक्ष तुल प्रसाद गौतम र वडा नं. ९ वडा अध्यक्ष चन्द्र बहादुर शाहीले पनि महिला स्वास्थ्यका सवालमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । कक्षा ९ देखि १२ कक्षा सम्मका छात्राहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य पेज डटकमका कार्यकारी सम्पादक प्रियास्मृति ढकाल, बर्दिया बहुमुखी क्याम्पस प्रमुख चन्द्र पौडेल, समाजसेवी तोयानाथ अधिकारी लगायतको सहभागिता रहेको त्रिभुवन सामुदायिक पुस्तकालयका कर्मचारी मीना पौडेलले जानकारी दिनुभयो ।