नेपालगन्जः बाँकेमा हालसम्म ८२.२ प्रतिशत बालबालिलकाले दादुरा–रुबेला रोग विरुद्धको खोप लगाएका छन् । फाल्गुन १३ देखि चलेको खोप अभियान अन्तर्गत चौथो दिनसम्म १ लाख ३६ हजार २७ जना बालबालिकाले अर्थात खोप लगाएका हुन् ।
बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । हालसम्म खजुरा र कोहलपुर नगरपालिकामा लक्ष्य भन्दा बढी अर्थात खजुरा गाउँपालिकामा १२२.७ प्रतिशत तथा कोहलपुरमा १०९.४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।
राप्तीसोनारीमा ८४.९, बैजनाथमा ८२.३ र डुडुवामा ८१.१ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
यस्तै जानकीमा ६३.१ र नेपालगञ्जमा ६२.७ प्रतिशत बालबालिकाले दादुरा-रुबेला विरुद्धको खोप लगाएका छन् । उता नरैनापुरमा ५४।२ प्रतिशतले खोप लगाएका छन् ।
९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । खोप अभियान फाल्गुन ३० गतेसम्म जारी रहनेछ ।