सन्तान जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष मानिन्छ । किनकि यो समयमा महिलामा गुणस्तरयुक्त डिम्ब हुन्छ । गुण्स्तरयुक्त र स्वस्थ डिम्बले गर्भाधान गर्न सहज हुनुका साथै बच्चा पनि स्वस्थ जन्मिन्छ । डिम्बलाई आजीवन जोगाइराख्ने व डिम्बको मात्रा बढाउने कुनै ठोस आधार छैन । त्यसैले भएको डिम्बको कसरी सदुपयोग गर्ने त्यो कुरामा ध्यान दिनु आवश्यक छ ।
महिलाको डिम्ब कस्तो अवस्थामा गुणस्तर मान्ने ?
महिला वा किशोरीको महिनावारी नियमित छ । महिलाको अण्डा निस्किएर वीर्यसँग निषेचन भई गर्भमा बच्चा बस्यो । सो बच्चा गर्भमा राम्रोसँग हुर्कियो र बिना कुनै जन्मजात रोग स्वस्थ जन्मियो भने डिम्ब स्वस्थ भएको भन्न सकिन्छ । गर्भ बसेपछि भ्रूणमा कुनै समस्या देखिंदैन भने त्यसलाई गुणस्तरको डिम्ब मान्न सकिन्छ ।
त्यस्तै महिनावारीमा कुनै गम्भीर समस्या छैन भने डिम्बको गुणस्तर र पाठेघर दुवै स्वस्थ भन्ने बुझिन्छ ।
डिम्बको गुणस्तर राम्रो हुने अवधि २० देखि ३० वर्षको उमेर हो । यस अवधिमा प्रजनन् क्षमता उच्च हुन्छ । इस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोन उच्च मात्रामा उत्पादन भई स्वस्थ डिम्ब पनि यही समयमा बढी निस्किने र सन्तान जन्माउन शारीरिक रुपमा पनि प्रजनन् अंग विकास भई परिपक्व भइसकेको हुन्छ । जसकारण २० देखि ३० वर्षको उमेर गर्भधानको लागि सबैभन्दा उपयुक्त मानिन्छ ।
यसको गुणस्तर र डिम्बको संख्या पत्ता लगाउन एएमएच (एन्टिमुलेरियन हार्मोन) परीक्षण गर्न सकिन्छ । यो परीक्षणबाट डिम्ब कतिको स्वस्थ छन् र कति बाँकी छ अर्थात् समग्रमा डिम्बाशयको अवस्था पत्ता लाग्छ ।
कति हुन्छ डिम्ब ?
जन्मिंदै केटी शिशुसँग औसतमा १० देखि २० लाखसम्म डिम्ब हुन्छ । जब किशोरावस्थाको समय अर्थात् १३ देखि १४ वर्षमा प्रवेश हुन्छ । त्यतिखेर करिब तीन लाख डिम्ब मात्र बाँकी हुन्छ । प्रत्येक महिनावारी हुँदा भएका डिम्बहरु निख्रिंदै जान्छ । त्यसमा पनि सबैभन्दा राम्रो र गुणस्तरको डिम्ब २० देखि ३५ को उमेरमा निस्कन्छ ।
डिम्बाशयमा बिस्तारै कम गुणस्तरका अण्डा मात्र बाँकी हुन्छ । ३५ वर्षपछि डिम्ब खर्चिने दर तीव्र हुन्छ । डिम्ब सकिएपछि महिनावारी पूर्ण रुपमा रोकिन्छ । जसलाई रजोनिवृत्ति भएको भनिन्छ ।
उमेर
उमेर बढ्दै गएपछि महिलासँग हुने निश्चित डिम्बको गुणस्तर र संख्यामा कमी आउँछ । महिनावारी चक्रपिच्छे स्वस्थ डिम्ब खर्चिंदै जान्छ । ३५ वर्षपछि डिम्बको गुणस्तर तथा संख्यामा कम हुने क्रम थप छिटो हुन्छ । ३८ वर्षपछि त्यो क्रम अझ तीव्र गतिमा जान्छ र ४० पुग्दासम्म अत्यधिक कम र कमजोर हुन्छ ।
नतिजा, डिम्ब कम गुणस्तरको र संख्यामा कमी आएमा सन्तान जन्मने सम्भावना कम र जन्मिएको सन्तानमा ‘डाउन सिन्ड्रोम’ हुने सम्भावना बढी हुन्छ । डाउन सिन्ड्रोम समस्या भन्नाले क्रोमोजोममा समस्या आई वंशाणुगत तवरमा शिशु सुस्त मनस्थितिको र शारीरिक रूपमा कमजोर हुने हुन्छ ।
अटोइम्युन
शरीरको प्रतिरोध गर्ने कोषले आफूविरुद्ध नै हमला गर्नुलाई अटोइम्युन भनिन्छ । यस्ता कोषले गर्भाशयमा पनि हमला गर्छ । मधुमेह, बाथ र थाइराइड केही अटोइम्युन रोग हुन् । यस्ता रोगले प्रजनन् अंगलाई खराब पार्ने, डिम्बको गुणस्तर र मात्रामा ह्रास ल्याउँछ ।
वंशाणुगत
कसैमा वंशाणुगत कारणले पनि डिम्ब कमजोर हुनसक्छ । र, संख्यामा पनि कमी आउन सक्छ ।
अन्य स्वास्थ्य समस्या
विभिन्न स्वास्थ्य समस्याले डिम्बमा असर गर्न सक्छ । जस्तै, क्यान्सर लागेकाहरुमा उपचारको क्रममा केमोथेरापी र रेडियसन थेरापी गर्दा त्यसको विकिरण र कडा औषधिले डिम्बाशयलाई नकारात्मक असर पुर्याई डिम्बको गुणस्तरमा ह्रास ल्याउँछ । तिनीहरुमा उमेर अगावै महिनावारी सुक्ने सम्भावना हुन्छ ।
पीसीओएस
पीसीओएसले पनि किशोरी वा महिलामा प्रजनन् समस्या निम्त्याउँछ । डिम्बाशयमा तरल पदार्थले भरिएको थैली र सिस्टका कारण डिम्बको गुणस्तर घटाउँछ । साथै ‘ओभुलेसन फ्रिक्वेन्सी’ अर्थात् डिम्ब निष्कासन हुने दर पनि घटाउँछ । यसको नतिजा, गर्भवती हुने सम्भावना कम गराउँछ ।
जीवनशैली तथा वातावरण
डिम्बको गुणस्तर र संख्यालाई जीवनशैली तथा वातावरणले पनि प्रभाव पार्न सक्छ । जसमा ध्रुमपान, अत्यधिक मोटोपन र धेरै प्रदूषणमा काम गर्नु वा बस्नु पर्छन् ।
धुम्रपान तथा मदिरा सेवन
धुम्रपान तथा मदिरा सेवनले डिम्बको निष्कासन हुने प्रक्रियालाई घटाइदिन्छ । त्यति मात्र होइन यसमा हुने रसायनहरुले यसको गुणस्तरमा पनि खराब गर्छ ।
मोटोपन
मोटोपनले शरीरमा हार्मोनको लेभलमा असन्तुलन ल्याउँछ । मोटो शरीर भएमा ईस्ट्रोजेन हार्मोनको उत्पादन चाहिनेभन्दा बढी हुन्छ । यसले डिम्बलाई खराब पार्ने गर्छ ।
खराब खानपान
पोषणयुक्त खानेकुरा दैनिकजसो नखाएमा डिम्बको गुणस्तरमा कमी आउन सक्छ । प्रायः जंकफुड खाने, तारेको खानेकुरा खाने, पौष्टिक खानेकुरा कम खाने, बाहिरको खानेकुरा खाने, झोलिलो खानेकुरा कम खाने र समयमा खाने बानी छैन भने तिनीहरुमा डिम्बको गुणस्तर घट्न सक्छ ।
डिम्बको गुणस्तर कसरी कायम राख्ने ?
डिम्बको गुणस्तरलाई बढाउन मुख्यतया खानपानमा ध्यान दिनुपर्छ । जसरी शरीर बलियो हुन खानपानको ठूलो भूमिका हुन्छ । त्यसैगरी डिम्ब स्वस्थ बन्न पनि उचित खानपान हुन जरुरी छ ।
खानपानमा थरीथरी रङ भएका फलफूल जस्तै, स्याउ, केरा, अंगुर, एभोकाडो प्रशस्त खाने हो भने पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट र सूक्ष्म पोषक तत्व पाइन्छ ।
त्यस्तै, फर्सीको बीउ, सूर्यमुखीको बीउ, चुकन्दर, गेडागुडी, माछामासु, अण्डामा पाइने भिटामिन, पोटासियम, प्रोटिन, आइरनजस्ता तत्त्वहरू सन्तुलित रुपमा खानु पनि डिम्बको लागि फाइदाजनक हुन्छ । खानेकुरासँगै पर्याप्त पानी पनि खानुपर्छ ।
डिम्बको गुणस्तर कायम राख्न तनाव व्यवस्थापन गर्ने, शारीरिक सक्रियता बढाउने, पर्याप्त (आठ घण्टा) सुत्ने जस्ता पक्षमा ध्यान दिनुपर्छ ।
मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन डा.सुवेदी, हाल भेरी अस्पतालमा प्रसूति तथा स्त्रीरोग वरिष्ठ कन्सल्टेन्टको रुपम कार्यरत कार्यरत हुनुहुन्छ)