लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढ्यो

    • स्वास्थ्य पेज

  • १६ फाल्गुन २०८०, बुधबार

नेपालगन्जः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। यो अस्पताल एक सय १४ वर्ष पुरानो हो । अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिसकेको छ। लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता गरेको थियो।

सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ। बुटवल उपमहानगरपालिका वडा नं. ९ मा रहेको ६ बिघा १२ कठ्ठा जग्गामा भवन निर्माण हुँदैछ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले भवन निर्माणपछि लुम्बिनी प्रादेशिक अस्पताल अत्याधुनिक पूर्वाधारसहितको प्रदेशकै अब्बल अस्पताल बन्ने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापाका अनुसार अब बन्ने अस्पतालको मुख्य भवन अन्डरग्राउन्डसहित १२ तलाको हुनेछ।

भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन्। ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन्। भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ। क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ।

१२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले जानकारी दिनुभयो ।  पुरानो भवन बुढो र जीर्ण बन्दै जाँदा उच्च भूकम्पीय जोखिममा परेपछि यसअघि पनि संघ र प्रदेश सरकारसँगै अस्पताल विकास समिति आफैंले पनि करोडौं रुपैयाँ लगानी गरेका छन्।

पछिल्लो पाँच वर्ष यता मात्रै संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन्। अस्पताल विकास समितिले पनि इमर्जेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा ३५ करोड बढी लगानी गरेको छ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech