नेपालगन्जः नेपाली चिकित्सकहरुको टिमको मात्रै संलग्नतामा दोस्रोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टिमले दोस्रोपल्ट सफलतापूर्वक प्रत्यारोपण गरेको हो। दुई हप्ताअघि कलेजो प्रत्यारोपण गरेका बिरामी आइतबार डिस्चार्ज गरिएका छन्।
३३ वर्षका पुरुषलाई २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन्। अत्याधिक मदिरा सेवनका कारण कलेजो फेल भएको थियो। जसको शिक्षण अस्पतालका डाक्टर तथा नर्सहरुको टिमले सफल प्रत्यारोपण गरेका हुन्। यसअघि डा भण्डारी नेतृत्वकै टिमले पुस २७ मा पहिलोपल्ट नेपाली चिकित्सकहरु मात्रको संलग्नतामा कलेजो प्रत्यारोपणमा सफलता हासिल गरेको थियो।
२०७६ जेठ १७ गते त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपणको सुरुवात गरेको थियो । दोस्रोपटक पनि आफ्नै नेतृत्वको टिमले प्रत्यारोपणमा सफलता हासिल गरेकाले नियमित गर्ने आत्मविश्वास बढेको डा भण्डारीले बताउनुभयो । यसपछि आफूहरुसँग थप दुईजना प्रत्यारोपणको पर्खाइमा रहेको उहाँले बताउनुभयो।