नेपालगन्जः बाँकेमा पहिलो दिन आज ३४ हजार बढी बालबालिकाहरुले दादुरा–रुबेला खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश बाबु श्रेष्ठका अनुसार ९ महिनादेखि १५ वर्ष उमेर समूहका ३४ हजार २३८ जना बालबालिकाले दादुरा–रुबेला खोप लगाएका हुन् । पहिलो दिन सबैभन्दा धेरै कोहलपुरका बालबालिकाले खोप लगाएका छन् ।
कोहलपुरमा ८ हजार ७२ जना बालबालिकाले खोप लगाएको पाइएको छ । कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । यसैगरी राप्ती सोनारी गाउँपालिकामा ३ हजार ५८९ जनाले खोप लगाए । यहाँ १८ हजार ६६१ जनालाई खोप लगाउने लक्ष्य छ । यसैगरी बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएकोमा पहिलो दिन २ हजार २१५ जनाले खोप लगाएका छन् ।
जानकी गाउँपालिकामा १८ हजार १४९ मध्ये १ हजार ९८७ जना, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७० जनामध्ये ६ हजार ३७५ जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जनामध्ये ४ हजार ३३२ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जनामध्ये आज पहिलो दिन १ हजार ७३५ जना बालबालिकाले खोप लगाएका छन् ।
बाँकेमा कूल एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । आजदेखि सुरु भएको यो अभियान ३० गतेसम्म जारी रहने छ ।