बाँकेमा सुरु भयो दादुरा रुबेला खोप अभियान

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०८०, आईतवार

नेपालगन्जः बाँकेमा पनि दादुरा रुबेला खोप अभियान सुरु भएको छ । फाल्गुन ३० गतेसम्म चल्ने अभियानको नेपालगन्जस्थित कन्या माध्यमिक विद्यालयमा आज एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अभियानको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डा शंकर केसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले खोप अभियानमा कोही पनि छुट्न नहुने भन्दै अनिवार्यरुपमा खोप लगाई दादुरा रुबेला निवारणका लागि योगदान गर्न आग्रह गरेका छन् ।

बाँकेमा १ लाख ६५ हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ । ९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई फाल्गुन ३० गतेसम्म दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चेन निरीक्षक जनक गिरीले बताउनुभयो ।

  • १३ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech