नेपालगन्ज: बाँकेमा १ लाख ६५ हजार बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ । यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुदैछ । ९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालगन्जमा आज आयोजित दादुरा रुबेला खोप अभियान सम्बन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीहरुसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा खोप अभियानको तयारीबारे जानकारी गराइएको हो ।
जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना अधिकारी श्रेष्ठले जिल्लामा गरिएको तयारीबारे जानकारी गराउनुभएको हो । कार्यक्रममा नेपालगन्ज क्षेत्रमा कार्यरत बालरोग विशेषज्ञहरुको समेत सहभागिता थियो । यो अभियानमा ९ महिनादेखि ५ वर्ष मुनिका ४८ हजार ८०१ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइने लक्ष्य छ ।
त्यसका लागि १ हजार २९६ जना स्वास्थ्यकर्मी खटिनेछन् भने १ हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन हुनेछन् । त्यसैगरी ४०५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिनेछ । यो अभियान फागुन ३० गतेसम्म चल्नेछ । बाँकेमा गत वर्ष दादुरा–रुबेलाका कारण केही बालबालिकाले ज्यान गुमाएका थिए भने सयौं बालबालिका संक्रमित भएका थिए ।