नेपालगन्जः बाँकेमा यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश बाबु श्रेष्ठका अनुसार ९ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य छ । दादुरा–रुबेला खोप अभियानको तयारी तीब्र पारिएको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार राप्ती सोनारीमा १८ हजार ६६१ जना, कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जना, बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा १८ हजार १४९, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई यो अभियानमा समेट्न लक्ष्य स्वास्थ्य कार्यालयको छ । ९ महिनादेखि ५ वर्ष मुनिका ४८ हजार ८०१ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइने छ ।
त्यसका लागि एक हजार २९६ जना स्वास्थ्यकर्मी खटिने छन् भने एक हजार २७३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन हुनेछन् । त्यसैगरी ४०५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिनेछ । यो अभियान फागुन ३० गतेसम्म चल्ने छ । बाँकेमा गत वर्ष दादुरा–रुबेलाका कारण केही बालबालिकालाई ज्यान गुमाएका थिए भने सयौं बालबालिका संक्रमित भएका थिए । दादुरा–रुबेलाका हिसावले बाँके उच्च जोखिम जिल्लामा पर्छ । मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग रुबेला हो ।
चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने बालरोग विशेषज्ञ डा.विष्णु थापा बताउनुहुन्छ । दादुरा संक्रमण भएमा समयै उपचार नपाए मृत्यु समेत हुनसक्छ । त्यसैगरी, रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ । तर, गर्भावस्थामा रुबेला संक्रमण भएमा विभिन्न जटिलताहरु देखिने डा.थापाको भनाइ छ । जस्तैः समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्नसक्ने, गर्भपतन हुने जोखिम रहन्छ ।
डा. थापाका अनुसार यस्तो रोग लागेमा अरुलाई सर्नबाट जोगाउन बिरामीलाई अलग ठाउँमा राख्न आवश्यक हुन्छ । यससँगै चिकित्समको सल्लाहमा लक्षणअनुसार तत्काल उपचार गरिहाल्नुपर्छ । दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्ने गर्छ ।
दादुरा रोगको लक्षण देखिनु भन्दा अघि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म संक्रमितले दादुराका विषाणु सार्दछन्। बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्नसक्छ । दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो। संक्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ। यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्छ ।