कोहलपुरमा ५०३ किशोरीको रक्तअल्पता जाँच, किन हुन्छ रक्तअल्पता ?

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०८०, बिहीबार

कोहलपुरः बाँकेको कोहलपुरमा किशोरीलाई रक्तअल्पताको समस्या देखिएको छ । दुई वटा विद्यालयका ५०३ जना किशोरीहरुको रक्त परीक्षण गरिएकोमा तीन जनामा शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले बताउनुभयो । उनिहरुलाई तत्काल उपचार प्रक्रियामा लगिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजना सामुदायिक विद्यालयमा किशोरीहरुको रक्तअल्पता परीक्षण कार्यक्रममा परीक्षण गरिएकामध्ये किशोरीमा शरीरमा रगतको मात्रा कम देखिएको हो ।

कोहलपुर नगरपालिका वडा नं.१ को कृष्ण मावि कौशल्या नगरमा २३५ जना किशोरीको परीक्षण गर्दा एक जना र वडा नं.१२ स्थित ज्ञानज्योति माविका २६८ जना किशोरीको जाँच गर्दा दुई जनामा रक्तअल्पता देखिएको हो । रक्तअल्पता देखिएका किशोरीहरुलाई पनि आइरन चक्की खुवाउन सुझाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन देव नारायण उपाध्यायले बताउनुभयो । परीक्षण कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रयोगशाला प्रमुख केशव ज्ञवाली, ल्याव टेक्निसियन पुष्प वलीसहितका स्वास्थ्यकर्मीहरु खटिनु भएको थियो । रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो ।

शरीरमा भएको रगतमा सामान्य भन्दा पनि थोरै राता रक्तकोष भएमा रक्तअल्पता हुन्छ । रक्तअल्पता भयो भने शारीरिक र मानसिक विकासमा वाधा पुग्दछ र रक्तअल्पता भइरह्यो भने मृत्यु पनि हुन सक्ने जोखिम रहने चिकित्सकहरु बताउँछन् । थकाई लाग्नु तथा अल्छी हुनु, काम गर्न, पढ्न र खेल्न मन नलाग्नु, नङ, हत्केला, ओठ, जिब्रो र आँखाको परेलामुनिको भाग सेतो फुस्रो देखिनु, पढेको कुरा नबुझ्नु र स्मरण शक्ति कम हुनु, अलि अलि काम गर्दा पनि स्वाँ….स्वाँ…. हुनु, मुटु ढुक्ढुक् हुनु, कहिलेकाहीं रिंगटा लाग्नु, मुर्छा पर्नुलगायतका लक्षण देखिए रक्तअल्पता भएको हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

दैनिक खानामा हरियो सागपात, तरकारी र कलेजो जस्ता फलाम पाइने खाद्यवस्तु समावेश नहुनु वा नखानु, अमला, कागती, भोगटे, सुन्तला जस्ता भिटामिन सी भएका खानाहरू र अन्य अमिला फलपूmलहरू कम खानु, खानेकुराको साथमा चिया, कफी, सुर्तीजन्य पदार्थ, जाँडरक्सी बढी खाएर शरीरमा फलाम तत्वको राम्रो शोषण हुन नसक्नु यसका कारण हुन् । प्रशस्त मात्रामा फलाम तत्व पाइने खानेकुराहरू खाने, रक्तअल्पता रोक्न भिटामिन ए र भिटामिन सी भएका खानेकुरा पनि खाने, रगतको कमी भएमा आइरन चक्की खाने हो भने रक्तअल्पताको समस्याबाट छुटकरा मिल्ने चिकित्सकहरु बताउँछन् ।

  • १० फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech