गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ । हेमोग्लोबिन रातो रक्तकोषिकामा पाइने एक किसिमको प्रोटिन हो ।
शरीरमा हेमोग्लोबिन बनाउन आइरन जरुरत हुन्छ । तर हामीले खाइरहेको खानपानबाट मात्र त्यसको पर्याप्त नहुँदा आइरन चक्की खान दिइन्छ । सामान्यतया महिलाहरुको १३ ग्रामप्रति डेसिलिटर हेमोग्लोबिन हुनुपर्छ । गर्भावस्थामा हेमोग्लोबिनको मात्रा कमी नहोस् भनेर आइरन चक्की दिने गरिन्छ ।
आइरन के हो ?
आइरन एक खनिज (मिनरल) हो, जुन कतिपय शारीरिक प्रक्रियालाई सुचारु रुपले सञ्चालन गर्नका लागि जरुरी हुन्छ । आइरनले शरीरमा हेमोग्लोबिन उत्पादन सहयोग गर्छ । हेमोग्लोबिनले शरीरका विभिन्न भागमा अक्सिजन प्रवाह गर्न रातो रक्तकोषिकालाई सहयोग गर्छ । यसैले शरीरमा आइरनको अभाव भएमा अक्सिजनको कमी हुन्छ ।
आइरनले प्रतिरोधक क्षमता, कोषिकाको उचित सञ्चालन र मांसपेशी बलियो बनाउने काम गर्छ । यदि शरीरमा आइरनको कमी भएमा रक्तअल्पता हुन्छ ।
खानेकुराबाट पाइन्छ आइरन ?
शरीरलाई आइरन हामीले खाने खानेकुराबाट प्राप्त हुन्छ । यसको मुख्य स्रोतहरु माछामासु, हरियो सागपात, कर्कलो, मेथीको साग, तोरी, पालुंगोको साग हुन् । यीबाहेक किसमिस, बदाम, काजु, पेस्तामा पनि आइरन धेरै मात्रामा पाइन्छ । चुकन्दर, अनार, गाँजर, आलुबखडा, सुन्तला, कागती, अमला, केरा, अम्बा, स्याउमा आइरन साेस्न सघाउने भिटामिन सी पाइन्छ । यीमध्ये चुकन्दर, अनार, कर्कलो, हरियो सागपात, अमला आइरनको हिसाबले समृद्ध स्रोत मानिन्छ ।
हामीलाई दैनिक कति आइरन जरुरत हुन्छ ?
दैनिक कति आइरन चाहिन्छ भनेर ठ्याक्कै तोकिएको छैन । यसमा मान्छेको शारीरिक अवस्था, उमेर निर्भर रहन्छ । गर्भवती महिलाको शारीरिक अवस्था ठीकै भएमा दिनको एक चक्की आइरन खान दिइन्छ । यदि हेमोग्लोबिनको मात्रा कम छ भने दिनमा दुई चक्कीसम्म आइरन दिने गरिन्छ ।
आइरनको कमीले के हुन्छ ?
शरीरमा आइरनको कमी भएमा रक्तकोषिकाहरु नष्ट हुँदै जाने वा शरीरमा रातो रक्तकोषिका निर्माण प्रक्रियामा कमी हुन थाल्छ । यसले गर्भवती महिलामा पार्न सक्ने जोखिम भनेको गर्भ तुहिने हो । साथै आइरनको अत्यधिक कमी भएमा रक्तअल्पता अर्थात् एनिमिया रोग लाग्न सक्छ ।
आइरनको कमी हुँदा अल्छी लाग्ने, कुनै कुरामा ध्यान केन्द्रित नहुने, कमजोर महसुस हुने, सुस्त हुने लक्षण देखापर्छ । थोरै काम गर्दा पनि थकान लाग्छ ।
आइरन कमी हुन नदिन के गर्ने ?
यसका लागि दैनिक खानपानमा पर्याप्त मात्रामा आइरनयुक्त सागपात, दाल, फलफूल र ड्राइफ्रुट्स खानुपर्छ । त्यस्तै गर्भवती महिलाको हकमा चिकित्सकको सल्लाहअनुसार आइरन चक्कीको सेवन गर्नुपर्छ । सामान्यतयाः गर्भवती महिलालाई गर्भावस्थाको तीन महिना कटेपछि दैनिक आइरनको चक्की सेवन गराउने गरिन्छ । यदि शरीरमा हेमोग्लोबिनको मात्रा त्यति कम छैन भने आइरन चक्की हप्तामा एकचोटि खान सकिन्छ ।
फलामको भाँडामा पनि पाइन्छ आइरन ?
फलामको भाँडामा पकाएर खाएको खानेकुरा पनि आइरन पाइन्छ । त्यसमा पकाएर खाँदा खानेकुरामा केही फलामको तत्व मिसिएको हुन्छ । त्यसैले पनि फलामको भाँडामा खाना पकाएर खानु उत्तम मानिन्छ । उहिले शरीरमा आइरनको पूर्ति यस्तै फलामको भाँडाबाट हुने मान्यता थियो । तर आजभोलि थरीथरीका भाँडाकुँडा आएपछि फलामको भाँडाको प्रयोग त्यति गरेको देखिंदैन ।
गर्भवतीलाई कहिलेबाट दिने ?
सामान्यतया गर्भावस्थामा १३ हप्ता वा तीन महिनापछि आइरन चक्की खान दिइन्छ । किनभने यसबेला वाकवाकी कम लाग्ने, बान्ता कम हुने हुन्छ । गर्भको शिशुको वृद्धिविकास पनि छिटो हुन्छ । यद्यपि गर्भवती महिलाको शरीरमा रगत कमी छ भने पहिलो महिनादेखि नै आइरन चक्की चाहिन सक्छ । बच्चा जन्माइसकेपछि पनि ६ हप्तासम्म नियमित आइरन चक्की खानुपर्ने हुन्छ ।