देशका अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भौगोलिक रुपमा विकट छ । सबै सूचांकमा पछि परेको कर्णालीका नागरिक आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत वञ्चित छन् ।
पछिल्लो समय कर्णालीमा स्वास्थ्य क्षेत्रमा भइरहेको केही काम उदाहरणीय छन् । केही समयअघि जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेको छ भने पोलियो उन्मूलनका सञ्चालन गरिएको जनचेतना तथा खोप अभियान चलाइयो ।
भौगोलिक रूपले विकट कर्णालीका जिल्लामा स्वास्थ्यसम्बन्धी के कस्ता समस्या छन् ? कर्णाली प्रदेशको समग्र स्वास्थ्य स्थिति कस्तो छ ? लगायत विषयमा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्कासँगको कुराकानीको सम्पादित अंश :
कर्णाली प्रदेशका नागरिकमा देखिने मुख्य स्वास्थ्य समस्या के–के छन् ?
विगत एक दशकको तथ्यांक हेर्ने हो भने कर्णालीमा सबैभन्दा बढी मात्रामा देखापर्ने संक्रामक रोग हो । मलेरिया, औलो, डेंगु, कालाजार, झाडापखालाले यहाँका स्थानीयलाई धेरै सताउने गरेको छ ।
मातृ स्वास्थ्य, नवजात शिशु र बाल स्वास्थ्यको समस्या पनि त्यत्तिकै छ । साथै पछिल्लो समय नसर्ने रोगहरू दम, मधुमेह, क्यान्सर र मानसिक रोगीहरु पनि धेरै छन् ।
अहिले स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार छन् । तीनै तहका सरकारले समन्वय गरेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने हुन्छ, समन्वय अभावले काम गर्न केही असहज भइरहेको छ । त्यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ ।
त्यहाँ भेटिएका केही प्रतिनिधि बिरामी छन् ? जो दुर्गममा बसेकै कारण स्वास्थ्य जटिलता भोगेका छन् ?
हरेक नागरिकले ३० मिनेटभित्र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने सिद्धान्त छ । तर कर्णालीका अधिकांश भेगमा यो कुरा लागू हुँदैन । भौगोलिक हिसाबमा सबैभन्दा विकट प्रदेश । मानव बस्तीहरू छरिएर रहेका छन् । यस्तोमा स्वास्थ सेवा दुर्गम गाउँहरूमा पुगेको छैन ।
दुर्गममा बसेकै कारण स्वास्थ्य जटिलता भोग्नेमा गर्भवती महिलाहरू पर्छन् । ब्रथिङ सेन्टरहरू त खुलेका छन्, तैपनि ३० मिनेटभित्र बिरामीको उद्धार भएको छैन । डेलिभरीको लागि एयर लिफ्टिङ गर्नुपर्ने अवस्था छ । सबैभन्दा बढी एयर लिफ्टिङ यही प्रदेशमा हुने गरेको छ ।
चोटपटकजन्य समस्या जस्तो भीरबाट लड्ने समस्यामा पनि छिटो उपचार नपाएर बिरामीको ज्यान जाने अवस्था सिर्जना हुन्छ । दुर्गममा बसेकै कारण क्यान्सर, मिर्गौलाको समस्या लास्ट स्टेजमा पत्ता लाग्ने समस्या पनि यहाँ भेटिन्छ ।
त्यसैले कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने देखिन्छ । यहाँ पूर्वाधारको अभाव छ । धेरै स्थानमा सडकको अभाव छ, सडक नहुँदा स्थानीयहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ । त्यसैले स्थानीय सरकारले सडक पूर्वाधार निर्माण विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
हिला वा पुरुष को बढी समस्यामा छन् ?
महिलाहरू बढी समस्यामा छन् । त्यसैले अस्पतालमा ओपीडी सर्भिस लिनेका साथै हेल्थ क्याम्पमा सहभागी लिने पनि महिला नै बढी छन् । भर्खरै केही महिनाअघि भएको हेल्थ क्याम्पमा त झन् ७१ प्रतिशत महिला र २९ प्रतिशत पुरुष थिए ।
महिलाको शारीरिक संरचना नै जटिल हुन्छ । रजस्वला, गर्भावस्था, प्रसूति पीडा, रजोनिवृत्ति आदिको कारण महिलाहरूमा विभिन्न स्वास्थ्य समस्या निम्तिन्छ ।
घरको सम्पूर्ण जिम्मेवारी महिलाले उठाएका हुन्छन् । जसले गर्दा उनीहरू आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन पाएका हुँदैनन् । जसले गर्दा महिलामा धेरै स्वास्थ्य समस्या देखा पर्छ ।
स्वास्थ्य सचेतना कस्तो छ ?
कुनै पनि समस्या भए तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ भन्ने सचेतना नभएकाले नै धेरै समस्या गम्भीर अवस्थामा पत्ता लाग्छन् । अस्पताल गएर चिकित्सकलाई भेटे पनि चिकित्सकको दिएको औषधि समयमा नखाने र फलोअपमा नआउने समस्या पनि छ । त्यो सचेतनाको कमीकै कारण हो ।
कर्णालीमा साक्षरता दर त पहिले भन्दा बढेको छ । त्यसमा पनि पुरुषको तुलनामा महिलाको साक्षरता दर त कम नै छ । त्यसैले पनि महिलामा स्वास्थ्य समस्या बढी भएको हुनसक्छ ।
संघीय सरकार र प्रदेश सरकारले स्वास्थ्य सचेतना फैलाउनुपर्छ भनेर केही कार्यक्रम गरिरहेको छ । तर आधारभूत स्वास्थ्य सेवाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । यस्तोमा स्थानीय तहले सचेत भएर स्वास्थ्य सचेतनामा लगानी गर्नुपर्छ । तीन तहका सरकारीच राम्रोसँग समन्वय गर्न सके जनतालाई अझ गुणस्तरीय स्वास्थ्य सेवा दिन र सचेतना फैलाउन सकिन्छ ।
सुत्केरी महिलाले प्रसूति सेवा पाएका छन् कि छैनन् ?
गर्भवती महिलालाई प्रसूतिमा सहजीकरण गर्त लागि बर्थिङ सेन्टर स्थापना त भएको छ । अहिले कर्णालीमा ५५० बर्थिङ सेन्टर छन्, तर स्वास्थ्यकर्मी र पूर्वाधार अभावमा अहिले ३५९ बर्थिङ सेन्टर मात्र नियमित चलिरहेका छन् । सडकको राम्रो व्यवस्था नहुँदा बर्थिङ सेन्टरमा ग्रामीण महिलाको पहुँच पुग्न नसकेको अवस्था छ ।
पाठेघर खस्ने समस्याबाट कति ग्रसित छन् ?
पाठेघर खस्ने समस्या यहाँको मुख्य समस्यामा नै पर्छ । यहाँ छिटो विवाह, छिटो गर्भधारण, धेरै बच्चा जन्माउने, गर्भावस्थामा पनि धेरै गाह्रो काम गर्ने, डेलिभरी राम्ररी नहुने, डेलिभरीपछि पनि तुरुन्त काममा फर्किनुपर्ने लगायत कारणले यहाँका महिलाहरूमा पाठेघर खस्ने समस्या छ । तर पछिल्लो १० वर्षको तथ्याकं हेर्ने हो भने यसमा केही कमी भएको देखिन्छ । पहिले हरेक घरमा कुनै न कुनै महिला पाठेघर खस्ने समस्याबाट ग्रसित हुन्थे । अहिले त्यो संख्या कम भएको छ ।
पाठेघर खस्ने समस्याबारे सचेतना फैलाउने र समयमै समस्या पत्ता लगाएर निःशुल्क उपचार गर्ने व्यवस्था भएसँगै संख्या कम भएको हो ।
त्यहाँ कस्तो किसिमको स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्छ ?
अहिले त्यहाँ सबैभन्दा बढी देखिएको स्वास्थ्य समस्या भनेको संक्रामक रोगको नै हो । त्यसैले यसलाई केन्द्रमा राखेर संक्रामक रोग फैलाउन रोक्न सचेतना फैलाउन जरुरी छ । यी रोगलाई मध्यनजर गर्दै आवश्यक औषधि र सामग्री तयारी सञ्चित गर्नुपर्छ ।
गर्भवती महिलालाई प्रसूतिमा सहजीकरण गर्त लागि बर्थिङ सेन्टर स्थापना त भएको छ । तर स्वास्थ्यकर्मी र पूर्वाधार अभाव छ । सडकको राम्रो व्यवस्था नहुँदा बर्थिङ सेन्टरमा ग्रामीण महिलाको पहुँच पुग्न नसकेको अवस्था छ । यस्तोमा बर्थ सेन्टरमा उपयुक्त जनशक्ति र पूर्वाधारको व्यवस्था गर्नुपर्छ । सुत्केरी पोषण र आमा सुरक्षा कार्यक्रममा रहेका जटिलतालाई समाधान गर्नेतर्फ ध्यान दिनुपर्छ ।