हृदयघात जुनसुकै बेला हुनसक्छ । लक्षण देखिना साथ चाँडोभन्दा चाँडो उपचार भएन भने ज्यान जान सक्छ । यस्तोमा प्राथमिक उपचारबारे थोरै मात्र जानकारी पाउन सकियो भने ज्यान बचाउन सकिन्छ । हृदयघात भएको व्यत्तिललाई कसरी तत्काल बचाउन सकिन्छ ?
सबैभन्दा पहिला लक्षण पत्ता लगाउनुपर्छ
हृदयघातको लक्षण जति छिटो पहिचान गर्न सकिन्छ त्यति बच्ने आशा रहन्छ । हृदयघातको अट्याक आउँदा बिरामीलाई असहज हुन थाल्छ । छातीमा दुखाइसँगै बेचैनी बढ्न थाल्छ । बायाँ हात वा काँधतर्फ दुखाइ बढ्छ । गिजामा पनि दुखाइ सुरु हुन्छ । सास फेर्न कठिन हुन थाल्छ । पसिना आउँछ । यी लक्षणबाहेक मधुमेह भएकालाई पाचनमा समस्या, बान्ता आउने, सास लिन समस्या जस्ता लक्षण देखिन सक्छ ।
तुरुन्त एम्बुलेन्स बोलाउने
बिरामीमा यस्तो लक्षण देख्दा वरपर बस्ने व्यक्ति डराउन सक्छन् । यस्तोमा एकछिन दिमागलाई शान्त बनाउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । शान्त दिमाग बनाई पहिला चिकित्सा मद्दत खोज्नु वा एम्बुलेन्सलाई कल गर्नुपर्छ । तर आलटाल गरी बस्नु हुँदैन ।
कतिपय अवस्थामा आलटाल गर्दा ज्यान जान सक्छ । हृदयघात हुनेबित्तिकै व्यक्ति ढल्दैन । केही मिनेट लक्षण देखिन्छ । यस्तोमा कैयौं बिरामी संकेत देखिए हृदयघात हुन लागेको मेसो पाउँदैनन् । एकछिनमा ठीक हुन्छ भन्दै अस्पताल जान हतार गदैनन् । ढिला गर्दा मुटुको मांसपेशीहरु मरिसक्छन् ।
त्यसैले लक्षण हेर्दा हृदयघातको शंका हुनेबित्तिकै एम्बुलेन्सलाई बोलाउनुपर्छ । त्यसमाथि पनि दीर्घरोग जस्तै मधुमेह, उच्च रक्तचाप भएको व्यक्ति घरमा छन् भने एक मिनेट पनि खेर जान नदिई एम्बुलेन्स वा गाडी घरमै छ भने तुरुन्त पायक पर्ने अस्पताल लाने तयारी गर्नुपर्छ ।
एम्बुलेन्स आउनुभन्दा अघि बिरामीलाई सजिलो समतल स्थानमा राख्नुपर्छ, जहाँ आराम महसुस गर्न सकोस् ।
एस्पिरिन लिने
एम्बुलेन्सलाई बोलाएपछि ३२५ एमजी डोजको एस्पिरिन औषधि छ भने एउटा ट्याबलेट ८१ एमजीको छ भने चारवटा ट्याब्लेट तुरुन्त खानुपर्छ । यो औषधि निल्नुभन्दा चपाउँदा छिटो प्रभाव देखाउँछ ।
एस्पिरिनले धमिनीभित्र जम्न सक्ने रगतको ढिक्कालाई टुक्राउन मद्दत गर्छ । र, अस्पताल नपुग्ने समयसम्म जोखिमलाई कम गर्छ ।
किनकि हृदयघातले मुटुको रक्तनली फुटेर रगतको ढिक्का जमाउन सक्छ । जसले रक्तसञ्चारलाई पूरा बन्द गरिदिनसक्छ ।
मुटुरोग, रक्तचाप र मधुमेह भएकाले यो औषधि सकिन्छ भने आफ्नो पकेटमा सधैं राख्ने गर्नुपर्छ । घरमा पनि यो औषधि अनिवार्य राख्नुपर्छ । ताकि संकेत देखिने बित्तिकै खान सकियोस् । यो औषधिले हृदयघात भए पनि जीवन बचाउन सक्ने कारण यसलाई ‘प्राणरक्षक औषधि’ पनि भनिन्छ ।
आफैं सवारी चलाएर अस्पताल नजाने
यस्ता लक्षण देखिंदैछ भने आफैं सवारी साधन चलाएर एक्लै जानु हुँदैन । किनभने यस्तो अवस्थामा व्यक्ति बिस्तारै बेहोस हुन पनि सक्छ । जसले सडक दुर्घटना हुनसक्छ ।
बेहोस हुन लागेमा नाडी परीक्षण गरी सीपीआर सुरु गर्ने
केही व्यक्ति सास लिनै कठिन भइराखेको छ वा बेहोस हुन लागेको अवस्था छ भने नाडी छाम्न सकिन्छ । नाडी छाम्दा नाडी र गर्दनमा दुई औंला बलियोसँग राखि स्थिर भएर धड्कन अनुभव गर्नुपर्छ । यसले शरीरमा रक्त सञ्चार भइरहेको थाहा हुन्छ ।
नाडी पत्ता लगाउन कठिन भइरहेको छ । र, अचेत अवस्थामा पुग्दै गरेमा तत्काल कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गर्न सुरु गर्नुपर्छ ।
सीपीआर गर्ने तरिका
सीपीआर गर्न छातीको केन्द्रमा बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ ।
कसरी हुन्छ उपचार ?
हृदयघात एकिन भएपछि रगत पातलो पार्ने औषधिहरु एसपिरिन र क्लोपीडोग्रेल खुवाइन्छ । त्यसपछि क्याथ ल्याबमा लगिन्छ । बिरामीको मुटुको अवस्था हेर्न बीपी मोनिटोरिङ गरी एक्सरे सहायताले हातको नाडी वा खुट्टामा सानो प्वाल पारी पाइप छिराएर बन्द रहेको रक्तनली पत्ता लगाई सो नली खोलेर त्यहाँ (जाली वा पाइप) स्टेन्ट राखिन्छ । र, रक्तप्रवाहलाई सुचारु गरिन्छ ।
यति गरेपछि अक्सिजनको प्रवाहमा सुधार आई छातीको दुखाइ काम हुन्छ । र, मुटमा रहेको मांसपेशी मर्दैन । बन्द भएको नसा जति चाँडो खोल्यो उति मुटुलाई बचाउने सम्भावना बढी हुन्छ ।
यसरी पाइप छिराएर नलीलाई खोल्ने प्रविधिलाई प्राइमरी एन्जियोप्लास्टी भनिन्छ ।
उपचार समयमा नपाउँदा
हृदयघात हुँदा मुटुमा रगत लैजाने रक्तनली शतप्रतिशत बन्द हुन्छ, जसले मुटुको मासु मर्न थाल्छ । र, बिस्तारै मुटु फेल हुँदै मुटु वरपरको मांसपेशी मर्दै गई फेल हुन्छ । त्यति नै बेला विद्युतीय गडबडी हुन्छ । र, मानिसको ज्यान जान सक्छ ।