अव राप्ती सोनारीमै आँखाको उपचार

    • स्वास्थ्य पेज

  • ३ फाल्गुन २०८०, बिहीबार

नेपालगन्जः बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा उपचारका लागी ‘राप्ती सोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ । योसँगै अव आँखाको चेकजाँच र उपचारका लागी नेपालगन्ज धाउनुपर्ने स्थानीयबासीको बाध्यता हटेको छ । राप्ती सोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएसँगै राप्ती सोनारी गाउँपालिका–४ बैजापुरस्थित बैजापुर अस्पतालमा विहीबारदेखि आँखा केन्द्र सञ्चालनमा आएको अस्पतालका प्रमुख डा. राम साहले जानकारी दिनुभयो । केन्द्रको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले स्वास्थ्य सेवालाई सवैको पहुँचमा केन्द्रीत गर्न आँखा उपचार पनि सुरु गरिएको बताउनुभयो ।

उहाँले कुनै पनि नागरिकहरु उपचार अभावमा अन्धोपन हुन नपरोस् भन्नेमा स्थानीय सरकार सचेत रहेको पनि उल्लेख गर्नुभयो । स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउनेगरी पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दै आएको पालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताउनुभयो । पालिकाभित्रै आँखा केन्द्रमा सञ्चालन आएपछि आँखाका बिरामीलाई उपचारका लागी अन्यत्र स्थान धाउनुपर्ने बाध्यता अव हटेको उहाँको भनाइ छ । यस्तै तिलगङ्गा आँखा प्रतिष्ठानका सर्जिकल इन्चार्ज विमल विसीले नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानले गाउँपालिकासँग मिलेर आगामी पाँच वर्षका लागी उपचार व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाका अनुसार एकजना नेत्र सहायक र एकजना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी केन्द्रमा हुनेछन् । पहिलो वर्ष प्रतिष्ठान र पालिकाले कर्मचारीको तलवभत्ता ५०–५० प्रतिशत ब्यहोर्ने सहमति भएको छ । जनताको पहुँचमा पुग्न सक्नेगरी एकीकृत रुपमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यका साथ केन्द्र सञ्चालनमा ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो ।

आँखा केन्द्र पालिकाको स्वास्थ्य शाखाको एकीकृत स्वास्थ्य सेवाको अङ्गको रुपमा रहने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो । सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने, आँखा केन्द्रमा पहिचान भएका मोतिविन्दुका बिरामीको लगत राखी तिलगङ्गा आँखा प्रतिष्ठानसँग समन्वय गरी शल्यक्रिया शिविरमा प्रेषण गर्ने, आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राह्यता दिइने, आँखा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम केन्द्रबाट सञ्चालन गरिने पनि स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । केन्द्रबाट बिरामीको दृष्टि तथा चश्मा जाँच, विरामीको आँखासम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको सामान्य शल्यक्रिया, सर्वसुलभ मुल्यमा औषधी तथा चश्माको बिक्री वितरण, आँखा रोगसम्बन्धी आकस्मिक सेवा प्रवाह हुनेछ ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech