भोको पेटमा ग्यास्ट्रिक बढ्यो भनिन्छ। धेरै समय खाली पेट बस्दा एसिड उत्पादन पनि बढी हुन्छ। त्यस्तो बेला ग्यास्ट्रिकका लक्षणहरू समेत धेरै देखिन्छन्। त्यही भएर बिरामीहरू मलाई भोको पेटमा ग्यास्ट्रिक बढ्यो भनेर आउँछन्। लामो समय भोको पेट बस्यो भने ग्यास्ट्राइटिसका लक्षणहरू बढ्छन्। त्यसैले धेरै खाना एकैचोटि नखाने, बरू बिस्तारै खाने गर्नुपर्छ।
ग्यास्ट्रिक हुनेले व्रत गर्ने कि नगर्ने भन्ने हुन्छ। नेपालमा धेरै व्रत बस्ने गरिन्छ। तीजपछि महिलाहरू भोको बसेर मलाई ग्यास्ट्राइटिस बढ्यो भनेर आउँछन्। एकैचोटि लामो समय नखाँदा पेटमा जुन नियमित पाचन प्रक्रिया हुनुपर्थ्यो, त्यो हुन सक्दैन। अनि एकैचोटि खाँदा एसिडको उत्पादन पनि बढ्छ। त्यसैले लक्षणहरू पनि बढ्ने हुन्छ।
सकेसम्म लामो समय खाली राखेर खाना खान हुँदैन। सकेसम्म ३-४ घन्टाको समयमा खाएको राम्रो हो। राती सुत्ने भएकाले सकेसम्म बिहानको समयमा चाँडै खानुपर्छ। यसले नियमित हुने पाचन प्रणालीलाई हानि हुन दिँदैन।
अहिले तौल घटाउन भन्दै ‘फास्टिङ’ र ‘डाइट’ गर्ने चलन बढेको छ। यसले ग्यास्ट्रिक बढाउँछ कि बढाउँदैन भन्ने जिज्ञासा पनि छ। मोटो मानिसले तौल घटाउन विभिन्न खालका उपायभन्दा पनि खानाको क्यालोरी घटाउने हो।
ग्यास्ट्रिक के कारणले हुन्छ?
सबै खानाले सबैलाई ग्यास्ट्राइटिस बढाउँछ भन्ने होइन। जुन खानाले आफूलाई ग्यास्ट्राइटिस बढेको अनुभव हुन्छ, त्यो नखाने हो। चुरोट, रक्सी लगायत सेवन गर्नुभएन। धेरै चिल्लो, पिरो, तारेको खान हुँदैन। सकेसम्म घरमै बनाएको खानुपर्छ। कहिलेकाहीँ बाहिर खाँदा हुन्छ तर सधैं खान भएन।
दक्षिण एसियाली मुलुकहरूमा हेलिकोब्याक्टर पाइलोरी धेरैजसोलाई खानपान र पानीबाट सर्छ। एउटा मान्छेलाई भइसकेपछि अर्को मान्छेमा त्यही मान्छेको थुक, वान्ता अनि दिसाबाट फैलिन्छ। धेरैजसोमा एचपाइलोरी पाइएको हुन्छ। यो एउटा प्रमुख कारण हो नेपालीलाई ग्यास्ट्रिक हुने।
अर्को खानपान हो। हामीले अलि जथाभाबी तरिकाले खाएका हुन्छौं। त्यसतर्फ हामीले विचार गर्नैपर्छ। हामीले धेरै चिल्लो, पिरो अनि गालेका खाना खान्छौं जसले गर्दा थप बढाउँछ। तर मुख्य कारण भने एचपाइलोरी नै हो।
ग्यास्ट्राइटिसका लक्षणः
– पेट फुल्ने
– खाना खाएपछि पेट ढुस्स हुने
– पेट पोल्ने
– पेटको माथिल्लो भाग दुख्ने
– असहज हुने अनि हुलुक-हुलुक आउने
– वान्ता हुने
– ढ्याउ ढ्याउ हुने
सामान्य ग्यास्ट्राइटिसमा यस्ता लक्षण देखिए पनि अल्सर भइसकेको रहेछ भने कालो दिसा हुने, मुखबाट रगत जाने, वान्ता धेरै हुने लगायत लक्षण देखिन्छन्। त्यस्तै परिवारमा कसैलाई आन्द्राको क्यान्सर भएको थियो भने तुरून्तै अस्पतालम गएर परीक्षण गर्नुपर्छ।
ग्यास्ट्राइटिसको
जटिल खालका लक्षण देखिए भने इन्डोस्कोपी गरिन्छ। पेटभित्र घाउ छ वा अरू केही बिग्रिएको छ भनेर हेरिन्छ।
इन्डोस्कोपी गर्न नपरेको अवस्थामा दिसाको परीक्षण गरिन्छ। किटाणु रहेछ भने केही समय औषधि खानुपर्। चिकित्सकको सुझाव अनुसार नै औषधि खानुपर्छ। ग्यास्ट्रिकको औषधि लामो समय खानु पर्दैन। सुगर, प्रेसर जस्ता रोगका बिरामी छन् भने मात्रै लामो समय औषधि खानुपर्छ।
खानपिनमा अनुशासित हुने अनि दैनिक व्यायाम गर्ने र पर्याप्त सुत्ने हो भने ग्यास्ट्रिक कम गर्न सकिन्छ।
ग्यास्ट्रिक हुनेहरूले चुरोट, रक्सी लगायतबाहेक अरू खान हुन्छ। अलि चिल्लो, तारेको र मैदा प्रयोग भएको खाना नखाएको राम्रो हो।