कोहलपुरः कोहलपुर नगरपालिका वडा नं. ७ स्थित लखनवारमा आजदेखि निःशुल्क चेकजाँच तथा औषधी वितरण एवम् परामर्श सेवा सुरु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ७ को आयोजना तथा नगर स्वास्थ्य शाखा शहरी स्वास्थ्य केन्द्रको समन्वयमा भोलि शनिवारसम्म शिविर चल्ने छ ।
विशेषज्ञ चिकित्सकसहितको शिविरमा पहिलो दिन १ सय ७८ जनाको स्वास्थ्य चेकजाँच एवम् परामर्श सेवा लिएको नगर अस्पताल कोहलपुरका ल्याव इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो । ७८ जनाको मधुमेह तथा सुगर जाँच गरिएको पनि उहाँले बताउनुभयो । वरिष्ठ फिजिसियन डा.श्याम विक, डा.देवेन्द्र आचार्य, डा.सन्तोष थारुलगायतले बिरामीको चेकजाँच गर्नुभएको थियो ।
उक्त शिविरमा स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीसहित स्वाथ्यकर्मीहरु अमित राना, शारदा चन्द, राजकुमार थारु, सुदन बुढाथोकी, आशिफ खाँनलगायत खटिनुभएको थियो । कार्यक्रम उद्घाटनमा बोल्ने सहभागिहरुले परामर्श सहितको औषधी वितरण कार्यक्रमले ग्रामीण स्तरका नागरिकहरुको स्वास्थ्य समस्या पहिचान गरि उपचारमा सहजता हुने बताए ।
उनीहरुले सामान्य स्वास्थ्य समस्यालाई स्वास्थ्य समस्या नै नमान्ने समुदायलाई स्वास्थ्य सम्बन्धि सचेतनाका साथै रोगका प्रकृति हेरि थप समस्या भएका नागरिकलाई नगर स्वास्थ्यसम्म पुगेर सेवा लिन शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ग्रामीण स्तरमा आयोजना गरिएका यस्ता शिविरका माध्यमबाट नागरिकहरुमा स्वास्थ्य सेवाको सहज पहुँच हुने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा वडा नं.७ का वडाअध्यक्ष ठग्गा थारु, सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विक, स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।