बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो ? यस्ता छन् कारण, लक्षण र उपचार

गर्भावस्थामा चुरोट तथा मदिरा सेवन, पौष्टिक आहारको कमी, आमाबुबा वा नजिकको नातेदारमा जन्मजात मुटुरोग हुनु वा बच्चामा क्रोमोजोमको गडबडी हुनु पनि जन्मजात मुटुरोगको कारणमा पर्छन् ।


    • डा. पुनम शर्मा/बाल मुटुरोग विशेषज्ञ

  • २६ माघ २०८०, शुक्रबार

अन्तर्राष्ट्रिय जर्नल नेसनल लाइब्रेरी इन मेडिसिनका अनुसार विश्वव्यापीरुपमा जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जन्मजात मुटुरोग हुन्छ । जन्मजात मुटुरोग धेरै किसिमको हुन्छ । जसमध्ये सबैभन्दा बढी शिशुमा निलो नहुने मुटुरोग (अस्यानोटिक हार्ट डिजीज) देखिन्छ ।

कुनै कारणवश शिशुको मुटुको संरचना र कार्यमा समस्या उत्पन्न हुने तर अनुहारमा निलो रङ नदेखिने खालको मुटुरोगलाई निलो नहुने जन्मजात मुटुरोग भनिन्छ ।

कारण

निलो नहुने जन्मजात हृदयरोग मुख्यतया गर्भमा हुर्किरहेको बच्चाको मुटुको तल र माथिका पर्दा र भल्बहरूको अस्वाभाविक विकास क्रमबाट हुन्छ । गर्भावस्थाको पहिलो तीन महिनामा हुने रुवेला, साइटोमेगल, भाइरस, हाइपर भिम्स, कोज्साकी भिम्स बी गर्भावस्थामा विभिन्न भाइरल संक्रमणका कारण हुन्छ ।

त्यस्तै एमफेटामाइन्स, उठीयम, थोडीडेमाइड जस्ता औषधिको सेवनले पनि जोखिम गराउँछ । गर्भावस्थामा चुरोट तथा मदिरा सेवन, पौष्टिक आहारको कमी, आमाबुबा वा नजिकको नातेदारमा जन्मजात मुटुरोग हुनु वा बच्चामा क्रोमोजोमको गडबडी हुनु पनि जन्मजात मुटुरोगको कारणमा पर्छन् ।

प्रकार

एट्रियल सेप्टल डिफेक्ट (एएसडी) : मुटुका चार कोठामध्ये माथिका दुई कोठाको बीचमा जन्मजात प्वाल हुन्छ । धेरैजसो केसमा यो आफैं बन्द हुँदैन । यदि प्वाल सानो छ भने खासै फरक पर्दैन । ठूलो भएमा मुटुको शल्यक्रिया गरेर प्वाल बन्द गर्नुपर्ने हुन्छ ।

भेन्ट्रिकुलर सेप्टल डिफेक्ट (भीएसडी) : मुटुका चार कोठामध्ये तलका दुई कोठाको बीचमा जन्मजात प्वाल हुन्छ । यो लगभग एट्रियल सेप्टल डिफेक्ट जस्तै हो । तर यो प्वालले मुटुको तलको दुई कोठालाई नै छुट्याइदिन्छ ।

पेटेन्ट डक्टस आर्टियासिस (पीडीए) : बच्चा गर्भमा रहँदा फोक्सोमा जाने मुख्य रक्तनली पलमोनरी आर्टरी) र शरीरको अन्य भागमा रक्त सञ्चालनको लागि जाने मुख्य रक्तनली (एओर्टा)को बीचमा सानो रक्तनली हुन्छ, जसमा प्वाल हुन्छ । समय नपुगी जन्मिएका बच्चामा यस्तो समस्या हुनसक्छ ।

एर्वोटिक स्टेनोसिस (एएस) : मुटुले शरीरको अन्य भागमा रक्त सञ्चालनका लागि जाने मुख्य रक्तनलीको मुखमा रहेको भल्ब साँघुरिनु एर्वोटिक स्टेनोसिस हो । सो भल्बले रगतलाई लैजाने र ल्याउने गर्न बन्द हुने र खुल्ने गर्छ । तर कुनै कारणवश भल्ब साँघुरिएमा राम्रोसँग खुल्न सक्दैन । र, रक्त सञ्चालनमा बाधा गर्छ ।

पाल्मोनरी स्टेनोसिस (पीएस) : मुटुबाट फोक्सोमा जाने मुख्य रक्तनलीमा रहेको भल्बले दाहिनेतर्फ मुटुबाट फोक्सोमा लैजान अक्सिजन र नराम्रो रगत लिन्छ । तर कुनै कारणवश सो भल्ब साँघुरिएमा भल्ब राम्रोसँग खुल्न सक्दैन ।

क्वार्कटेसन अफ एर्वोटा (सओए) : मुटुले शरीरको अन्य भागमा रक्त सञ्चालनका लागि जाने मुख्य रक्तनली साँघुरिंदा यो समस्या हुन्छ ।

यीमध्ये सबैभन्दा बढी देखिने रोग भेन्ट्रिकुलर सेप्टल डिफेक्ट(भिएसडी) अर्थात् मुटुको तल्लो कोठाबीचमा प्वाल पर्ने हो ।

लक्षण

मुटुमा सानो प्वाल, रक्तनली वा भल्ब थोरै खुम्चिएको अवस्थामा केही लक्षण देखिंदैन, जसकारण धेरै वर्षसम्म पनि रोग पत्ता नलाग्न सक्छ । तर त्यही मुटुको प्वाल ठूलो भएमा वा भल्ब अति नै साँघुरिएमा नवजात शिशु जन्मिएको केही समयमा नै लक्षण देखापर्छ ।

यसका मुख्य लक्षण यस्ता हुन्छन् ।

-मुटुको चाल सोही उमेरका बच्चाको तुलनामा अलि छिटो छिटो हुने

-सास फेर्न गाह्रो हुने वा छिटो-छिटो सास फेर्ने

-बच्चाले राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुसिरहेको बेलामा निधारमा पसिना आउने

-अरु बच्चाको तुलनामा धेरै छटपटाइरहने

-बारम्बार कडा निमोनिया भइरहने

-बच्चाको वृद्धि विकास नहुने

-पाल्मोनरी स्टेनोसिसजस्ता मुटुका रक्तनलीको भल्बहरु अति नै साँघुरो भएको अवस्थामा चाँडै थाक्ने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निनेजस्ता लक्षण पनि देखिन्छन् ।

यी लक्षणहरु देखिएमा मुटुको आवश्यक जाँच गराउन जरुरी छ ।

पहिचान

छातीको एक्सरे, मुटुको भिडियो एक्सरे (ईसीजी), गर्भभित्रै रहेको शिशुको मुटुको भिडियो एक्सरे (एफईसीजी) बाट जन्मजात मुटुरोग पत्ता लगाउन सकिन्छ ।

यदि पहिचान विधिबाट समस्या पत्ता लगेमा १५ वर्षमुनिका बालबालिकाको उपचार सरकारले नि:शुल्क गरेको छ ।

उपचार

जन्मजात मुटुका प्वाल (साना तथा साधारण) केही वर्षपछि आफैं टालिन सक्छन् । यी प्वालहरुलाई केही नगरी नियमित फलोअप गरेर हेर्न सकिन्छ ।

एट्रियल सेप्टल डिफेक्ट, भेन्ट्रिकुलर सेप्टल डिफेक्टर र पेटेन्ट डक्टस आर्टियासिसको समस्या भएमा  शल्यक्रिया नगरी पनि मुटुका सामान्य प्वालहरुलाई क्याथेटरको माध्यमबाट बन्द गर्न सकिन्छ ।

जाली राखेर वा क्याथेटरको माध्यमबाट बन्द गर्न नसकिने प्वालहरु शल्यक्रिया गरेर नै बन्द गर्नुपर्ने हुन्छ । यो शल्यक्रिया गर्दा प्वालको प्रकार, प्वाल कता छ, यसको असर र बच्चाको उमेर तौल सबै हेरिन्छ । यससँगै अन्य स्वास्थ्य समस्या भएमा पहिले व्यवस्थापन गर्नुपर्छ ।

औषधिले कुनै पनि प्वाललाई बन्द गर्ने वा साँघुरो भएको ठाउँ खुलाउने काम गर्दैन । तर यसले बच्चालाई लक्षण घटाउनुका साथै लक्षण घटाउँछ ।

  • २६ माघ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech