लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र पिआईसीयू सेवा सुरु

    • स्वास्थ्य पेज

  • २५ माघ २०८०, बिहीबार

नेपालगन्जः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआईसियु) सेवा सुरु गरेको छ । अब गर्भवती महिलाले परिवारका सदस्यसँगै विशेषज्ञसहितको सुविधामा बर्थिङ सेन्टरमा बच्चा जन्माउने छन् । सुविधासहितको बर्थिङ सेन्टर अस्पताल परिसरको ब्लक सीको पहिलो तला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालका ब्लक सीको तेस्रो तलाबाट सेवा प्रवाह हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुदर्शन थापाले बताउनुभयो ।

आज लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले दुवै सेवाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका १३ अस्पताल मध्ये लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पतालको रुपमा रुपान्तरण हुँदै गएको बताउनुभयो । प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा अघि बढाएको लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सरको उपचार गर्ने भवनसहित ६ अर्ब लागतको सुविधा सम्पन्न भवन निर्माणका लागि टेण्डर भएर सम्झौता भइसकेको छ । भवन निर्माण सम्पन्न भएपछि अस्पताल ८ सय बेडमा विस्तार हुनेछ ।

मन्त्री खनालले अस्पतालहरु पूर्वाधारमा सम्पन्न बन्दै गइरहेपनि सुविधा र जनशक्ति अभाव रहिरहेको र त्यसलाई चिर्ने गरी सरकार अघि बढेको बताउनुभयो । आजदेखि सुरु भएको सेवाले मातृ र बालमृत्यु दर कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो। लुम्बिनीमा अहिले मातृ र बालमृत्यु दर उच्च देखिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोद गिरीले अस्पतालमा सुरु भएको बर्थिङ सेवापछि गम्भिर प्रकृतिका आमा र बच्चाको उपचारका लागि काठमाण्डौं रिफर गर्नु नपर्ने बताउनुभयो । अस्पतालका बालरोग विभाग प्रमुख डाक्टर किरणमणि पौडेलले गर्भवती आमा र बालबालिकाको उपचारका ६ बेडबाट सुरु गरेको उपचारमा सुविधा विस्तार हुँदै जानु सकारात्मक रहेको बताउनुभयो ।

  • २५ माघ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech