पिसाब शरीरको बिकार बाहिर फाल्ने प्रमुख माध्यम हो । त्यसैले, विभिन्न रोगको पहिचानका लागि पिसाबको जाँच गरिन्छ । मूत्र प्रणाली तथा अन्य प्रणालीको रोग पत्ता लगाउन जुनसुकै विषयका बहिरंग तथा अन्तरंग विभागबाट चिकित्सकले पिसाबको जाँच प्रायः पठाइराख्छन् किनकि पिसाब जाँचले मूत्र प्रणालीको अवस्था मात्र नभई अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्दछ । पिसाबको जाँच गर्नका लागि नमुना संकलन गर्दा धेरै सावधानी अपनाउन सकिएन भने नतिजा राम्रो नआउन सक्छ ।
कस्तो अवस्थामा जाँच गरिन्छ ?
पिसाबमा अनेकौँ रोगका लागि अनेकौँ जाँच गर्न सकिन्छ । साधारणतया बहिरंग र अन्तरंग विभागबाट पठाइने जाँच भनेको सामान्य जाँच मात्र हो । बाहिरबाट स्वस्थ अनुभूति भइराखेको व्यक्तिलाई पनि पिसाबको जाँचको आवश्यकता पर्न सक्छ । पिसाब पोल्ने, पिसाबमा रगत देखापर्ने, साबिकभन्दा छिटो पिसाब लाग्ने, पिसाब निख्रिएर नआउने, धारा मसिनो आउने, अन्डकोष तथा तल्लो पेट दुख्ने, कोखा दुख्ने र काम ज्वरो आउने, पिसाब चुहिने समस्या, मूत्र प्रणाली तथा त्यसका वरपरका अंगसम्बन्धी कुनै शल्यक्रिया हुनुपूर्व आदि समस्यामा पिसाब जाँच गरिन्छ ।
यसरी पिसाब संकलन गर्दा प्रयोग हुने भाँडो नयाँ, सफा, राम्रो अवस्थाको बिर्को भएको र नफुटेको हुनुपर्छ । पिसाब कल्चर गर्न प्रयोग हुने भाँडा पूर्ण रूपमा कीटाणुरहित हुनुपर्छ, जुन प्रयोगशालाबाट नै प्रदान गरिन्छ ।
संकलन गरिएको नमुना के गर्ने ?
यसरी विभिन्न विधिबाट संकलन गरिएको पिसाबको नमुना तुरुन्त प्रयोगशालामा बुझाउनुपर्ने हुन्छ । प्रयोगशालामा पठाइएको नमुना बढीमा एक घण्टाभित्र जाँच गरिसक्नुपर्ने हुन्छ । यदि जाँचका लागि केही समय लाग्ने अवस्था भएमा उक्त स्याम्पललाई २–८ डिग्री सेल्सियसको तापक्रममा फ्रिज गरिराख्नुपर्ने हुन्छ ।
साधारणतया पिसाबको रंग, रूप, एसिडिटीको तह, सुगर र प्रोटिन हेरिन्छ भने माइक्रोस्कोपमा पिप, रगत, इपिथेलियम, कास्ट र क्रिस्टलका कणहरू हेरिन्छन् ।यसरी हेरिने एक–एक कुराको विभिन्न रोग निदान गर्न आ—आफ्नै तरिकाको महत्व हुन्छ । अन्य गरिने जाँचहरूमध्ये पिसाब कल्चर, पिसाबमा क्यान्सरको कोष, विभिन्न किसिमका हर्मोनको जाँच, मूत्र प्रणालीको पत्थरीको विशेष जाँच इत्यादि हुन् ।
जाँचका लागि पिसाब संकलन कसरी गर्ने ?
चिकित्सकले पिसाबको जाँच गर्न सुझाव गरिसकेपछि बिरामी, बिरामीका आफन्त र प्रयोगशालाकर्मीले निम्न कुरामा ध्यान पु¥याउन आवश्यक देखिन्छ । प्रयोगशालाकर्मी, बहिरंग अथवा अन्तरंग विभागमा कार्यरत नर्स, कर्मचारी तथा स्वास्थ्य सहायकले बिरामी र उनका आफन्तलाई पिसाब जाँचका लागि पिसाब संकलन गर्ने तरिकाबारे उचित परामर्श गर्र्नु अति अवश्यक देखिन्छ । नमुना संकलनका लागि प्रयोगशालाबाट प्रदान गरिने उपयुक्त भाँडाको व्यवस्था मिलाउन सुझाव गरिन्छ । उचित सरसल्लाहविना संकलन गरिएको नमुनाबाट अनावश्यक र गलत तरिकाको रिपोर्ट आउन सक्ने सम्भावना उत्तिकै हुन्छन् ।
पुरुषको पिसाब संकलन : पुरुषहरूको पिसाब संकलन गर्नुअघि लिंग र लिंगवरपरको छाला राम्ररी साबुन पानीले सफा गरेर एक हातले छालामाथि फर्काएर पिसाब फेर्न सुरु गर्ने र बीचको धाराबाट ५—१० मिलिलिटर पिसाब प्रयोगशालाबाट दिइएको भाँडामा संकलन गर्ने । उक्त नमुना तुरुन्त प्रयोगशालामा जाँचका लागि बुझाउने । बिरामी आफैँले स्वस्फूर्त फेरेको पिसाबको बीचको धारबाट लिइएको नमुना सर्वोत्कृष्ठ मानिन्छ ।
महिलाको पिसाब संकलन : नमुना संकलन गर्नुअघि सफापानीले यौनांग राम्ररी सफा गरी बसेर पिसाब फेर्ने र बीचको धाराको ५—१० मिलिलिटर पिसाब प्रयोगशालाले प्रदान गरेको भाँडामा संकलन गरी तुरुन्त बुझाउनुपर्ने हुन्छ ।
बच्चाको पिसाब संकलन : बच्चामा पिसाब संकलन गर्ने प्रक्रिया आफैँमा अलि जटिल कार्य हो । बोलीचाली बुझ्न सक्ने उमेरको बच्चाले आमाबुबाको आदेश सजिलै पालन गर्ने हुनाले उक्त उमेरका बच्चामा माथि उल्लेखित वयस्क बिरामीमा झैँ नमुना संकलन गर्न सकिन्छ । तर, कम उमेरको बच्चामा पिसाब फेर्ने अंगमा विशेष किसिमको एउटा झोला लगाई नमुना संकलन गर्नुपर्ने हुन्छ । उक्त किसिमको झोला प्रयोगशालाकर्मीको सहयोगबाट उपलब्ध गराउन सकिन्छ । आवश्यक परेमा पिसाब गर्ने ठाउँबाट क्याथेटर लगाई पिसाबको नमुना संकलन गर्नुपर्ने हुन सक्छ ।
क्याथेटर लगाइएका बिरामीको पिसाब संकलन : अस्पतालमा उपचारको क्रममा विभिन्न कारणवश पिसाब गर्ने ठाउँमा क्याथेटर लगाइएका बिरामी पनि प्रशस्त भेटिन्छन् । उनीहरूमा पिसाब जाँचका लागि नमुना संकलन गर्नुपरे क्याथेटरबाट सिरिन्जको मद्दतले पिसाब लिन सकिन्छ अथवा क्याथेटर लगाई एकछिन क्लाम्प गरी त्यहाँबाट पनि बीचको धाराको नमुना लिन सकिन्छ ।