राहुलले एमबीबीएस पढ्ने बाटो खुल्यो

    • स्वास्थ्य पेज

  • २३ माघ २०८०, मंगलवार

नेपालगन्ज:एमबीबीएस अध्ययनका लागि कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भएको छ । चिकित्सा शिक्षा आयोगलाई पत्र लेख्दै मन्त्रालयले भर्ना शुल्क तिरिदिने भएपछि राहुलको डाक्टर बन्ने सपना साकार हुने भएको हो ।

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि आर्थिक अभावले उहाँको भर्ना छुटेको थियो । प्रदेश सरकारको समेत आर्थिक छात्रवृत्ति पाएका राहुल भर्ना हुनबाट वञ्चित हुनु भएको थियो । कैलालीको गौरीगंगा नगरपालिका–६ का राहुल विपन्न परिवारमा जन्मिनुभएका मेधाबी छात्र हुनुहुन्छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन ।राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट हुनु भएको थियो । सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो ।

हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कुल शुल्कमा १५ लाख भर्ना हुने बेला नै बुझाउनुपर्ने भनेको थियो । यसअघि राहुलले आफ्नो भर्ना छुट्न लागेको जानकारी गराउँदै सामाजिक विकास मन्त्रालयका कर्मचारी, मन्त्री सबैसँग गुहार्नु भएको थियो तर सुनुवाइ भएको थिएन ।

मन्त्रालयले टार्नका लागि माघ ३ गते ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्र थमाएको थियो । त्यस व्यहोराको पत्रलाई हस्पिटलले आधार मानेन ।

प्रमुख सचिव हरि लम्सालसमेतको सक्रियतामा सोमबार मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई भर्नाका लागि सहजीकरण गरिदिन आग्रह गर्दै शुल्क तिर्ने पत्र लेखेको हो ।

  • २३ माघ २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech