नेपालमा ठूलो आन्द्राको क्यान्सरका बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । विकसित देशहरुमा ठूलो आन्द्राको क्यान्सरको समस्या सामान्य भइसकेको भए पनि नेपालमा यसबारे जनचेतनाको अभाव र समयमा निदान तथा उपचार हुन नसक्दा ठूलो समस्याको रुपमा देखा परेको छ ।
यस विषयमा ध्यान दिन नसकेका कारण यसले भयावह रुप लिंदै गएको छ । त्यसैले ठूलो आन्द्राको क्यान्सर कसरी लाग्छ, के कारणले लाग्छ ? परीक्षण कसरी गराउने ? उपचार के छ ? भन्ने जान्न जरुरी छ ।
ठूलो आन्द्रा (कोलोन) ६ फिट लामो नली जस्तो मांसपेशी हो । यसले सानो आन्द्रालाई मलाशयसँग जोड्छ । त्यति मात्र नभई खानाबाट प्रोटिन र भिटामिन जस्ता आवश्यक चीजहरू लिन्छ र फोहोरलाई अलग गर्ने काम पनि यसैले गर्छ ।
जसमार्फत अनावश्यक तत्व मलको रुपमा तयार हुन्छ । जब यसको कुनै भागमा कुनै कारणवश तीव्र रुपमा अत्यधिक कोषहरु अनियन्त्रित रुपमा बढ्दै गएमा ठूलो आन्द्राको क्यान्सर भएको बुझिन्छ । ठूलो आन्द्राको क्यान्सरलाई चिकित्सकीय भाषामा कोलोरेक्टल क्यान्सर पनि भनिन्छ ।
यो कति सामान्य ?
डब्ल्यूएचओका अनुसार पेटको क्यान्सर पुरुष र महिलामा हुने दोस्रो सबैभन्दा सामान्य क्यान्सर हो । करिब दुई प्रतिशत मानिसलाई ५० वर्षको उमेरमा पेटको क्यान्सर हुन्छ । यद्यपि, नेपालमा भने यस रोगबाट कति प्रभावित छन् भने एकिन तथ्यांक पाइँदैन । कोलोरेक्टल क्यान्सरले पुरुष र महिलालाई समान रूपमा असर गर्छ । तर पुरुषमा यो कम उमेरमा हुन सक्छ ।
कारण
कोलोरेक्टल क्यान्सर कसरी हुन्छ भन्नेमा त खास कारण पत्ता लागेको छैन । यद्यपि, केही कारणलाई यसको जिम्मेवार मानिन्छ । अत्यधिक रेड मिट खाने, फाइबर अत्यन्त कम खाने, धुम्रपान र मद्यपान धेरै गर्ने व्यक्तिलाई पनि ठूलो आन्द्राको क्यान्सर गराउने मुख्य कारक मानिन्छ । खानपानमा लापरवाही, जंकफुड, फास्टफुडको अत्यधिक उपभोग पनि यसको कारण बन्न सक्छ ।
त्यस्तै, आन्द्रामा देखिने कोलोरेक्टल पोलिप अर्थात् आन्द्रामा मासु पलाएको छ तर समयमा उपचार भएको छैन भने पछि क्यान्सरमा परिणत हुन सक्छ । त्यसैगरी, इन्फ्लामेटरी बाउल डिजिजले ठूलो आन्द्राभरि नै घाउ बनाउँछ । त्यसको उपचार भएको छैन वा पित्तनलीसम्बन्धी रोगमा पनि अन्तिममा गएर क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
कुनै पनि आन्द्रामा देखिने रोग समयमा उपचार भएन भने पनि क्यान्सरको रुप लिन्छ । खानपानमा ध्यान नदिनुका साथै कम शारीरिक परिश्रम गर्ने मानिसमा मोटोपनको समस्या हुन्छ । अत्यधिक मोटोपन पनि कोलोरेक्टल क्यान्सरको सम्भावना बढाउँछ । मोटोपनबाट पीडित व्यक्तिहरूलाई अन्य धेरै पेटसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । यसबाहेक जसको परिवारमा यो पहिले नै कसैलाई क्यान्सर भइसकेको छ भने त्यस परिवारको सदस्यमा हुने जोखिम हुन सक्छ ।
लक्षण
आन्द्राको कुन भागमा क्यान्सर छ, त्यहीअनुसारको संकेत देखिन्छ । जस्तै, ठूलो आन्द्राको दायाँ भागमा क्यान्सर भए बिरामीलाई कुनै किसिमको दुखाइ नहुन सक्छ । उनीहरुमा एकैपटक रगतको कमी भएर रिंगटा लाग्ने, मासुको डल्लो पलाउने, दिसा कालो हुने, कमजोर अनुभव हुने, छिटो थाक्ने जस्ता लक्षण देखिन्छ ।
यस्तै, बायाँतर्फको भागमा क्यान्सर भएमा मासु पलाएर आन्द्रा साँघुरो हुन्छ, जसकारण दिसा गर्ने क्रममा त्यसको प्रभाव फरक हुन्छ । उनीहरुमा कडा दिसा हुने, दुई-तीन दिनपछि मात्र दिसा हुने, कहिले डायरिया हुने, कहिलेकाहीं खाना खाएपछि पेट बटारिएको जस्तो महसुस हुन्छ ।
कहिलेकाहीं क्यान्सरले पलाएको मासुको भागबाट रगत बग्ने गर्छ, जुन गएर दिसामा गाढा रगत देखा पर्छ । यसबाहेक कब्जियत, पेटमा दुखाइ, पेट सुन्निने, बान्ता हुने र पेटमा गाँठो हुनु लगायत लक्षण देखिन सक्छ ।
पहिचान
यो रोगको पहिचान लक्षणलाई आधार मानेर गरिन्छ । दिसामा समस्या भएर आएका बिरामीको दिसाको परीक्षण गरिन्छ । यसबाट बिरामीमा रगतको मात्रा कति छ भनेर निर्क्योल गर्न सकिन्छ । यसबाट पनि केही हदसम्म पत्ता लाग्छ ।
त्यस्तै, कोलोनस्कोपी गरेर दूरबीनको माध्यमबाट ठूलो आन्द्रामा हेरी क्यान्सरको लक्षणको शंका लागेमा त्यहाँबाट सानो टुक्रा निकालेर बायोस्पी गरिन्छ ।
अर्को भनेको क्यान्सर बनाउने पोलिप (मासु पलाएको ) छ भने स्क्रीनिंङद्वारा पत्ता लगाउन सकिन्छ । यदि पोलिपको समयमै उपचार गरियो भने क्यान्सरसम्म पुग्न पाउँदैन । यस्ता विधिबाट क्यान्सर कुन चरणमा छ पत्ता लाग्छ । र, सोही अनुसार उपचार प्रक्रिया अगाडि बढाउन सकिन्छ ।
उपचार
यदि पेटको क्यान्सर प्रारम्भिक चरणमा नै पत्ता लाग्यो भने निको हुने सम्भावना धेरै हुन्छ । यसको उपचार शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी पर्छन् । क्यान्सरको कुन चरण हो त्यसको आधारमा उपचार फरक हुन्छ ।
त्यस्तै, क्यान्सर पहिलो र दोस्रो चरणमा छ र अन्य अंगमा फैलिएको छैन भने क्यान्सर भएको मासुको भाग शल्यक्रिया गरी निकाल्न सकिन्छ । मासुसँगै त्यसको ग्रन्थी पनि निकाल्नुपर्छ । क्यान्सर हुँदा सम्पूर्ण भाग नै फाल्नुपर्ने हुँदा अन्य शल्यक्रियाभन्दा क्यान्सरपछिको शल्यक्रिया फरक हुन्छ ।
पहिला चिरफारबाट मात्र शल्यक्रिया हुन्थ्यो भने अहिले ल्याप्रोस्कोपिक प्रविधिबाट सानो घाउ बनाएर गर्न सकिन्छ । सुरुको अवस्थामा पहिचान भयो र शल्यक्रिया पनि सही ढंगले भएको छ भने बिरामी निको हुन सक्छ ।
क्यान्सरको तेस्रो चरण पार भएको छैन भने शल्यक्रिया गराउनु प्रभावकारी हुन सक्छ । चौथो चरणमा भने कलेजोतिर पनि क्यान्सर फैलिसकेको हुन सक्छ । कसैलाई किमोथेरापी त कसैलाई अवस्था हेरेर रेडियोथेरापी पनि गर्नपर्ने हुन्छ ।
कसरी बच्ने ?
-पारिवारिक इतिहास भएमा बेलाबखतमा स्क्रिनिङ गर्ने ।
-रेडमिट नखाने, धुम्रपान र मदिरा सेवन नगर्ने ।
-मोटोपन हुन नदिन फाइबरयुक्त र ठिक्क मात्रामा सन्तुलित आहार खाने ।
-शारीरिक व्यायाम गर्ने ।