छात्रवृत्ति पाए पनि भर्ना खर्च नहुँदा एमबीबीएस पढ्न पाएनन् राहुल

    • स्वास्थ्य पेज

  • २१ माघ २०८०, आईतवार

नेपालगन्जः कैलालीको गौरीगंगा नगरपालिका–६ कठौतिया वनबेहडाका राहुल नेपालीले छात्रवृत्ति पाए पनि भर्ना खर्च नहुँदा एमबीबीएस पढ्नबाट बञ्चित हुनु भएको छ । राहुलले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले गत कात्तिकमा लिएको प्रवेश परीक्षा उत्तीर्ण गर्नुभएको थियो । तर, आर्थिक अभावमा उहाँ भर्ना हुनबाटै वञ्चित हुनु भएको छ । सानैदेखि पढाइमा मेधावी राहुलले गोदावरी नगरपालिकास्थित समैजी माध्यमिक विद्यालय मजगाउँबाट एसईईमा ए प्लस ल्याउनुभयो ।

अत्तरियाकै दुर्गालक्ष्मी नमुना माविमा विज्ञान विषय लिएर १२ कक्षामा पनि ए ग्रेड ल्याउन सफल हुनुभयो । सरकारी विद्यालयमा राम्रो पढाइ नै हुँदैन भन्ने भाष्य राहुलले गलत सिद्ध गरिछाड्नुभयो । पढाइमा अब्बल राहुललाई एसईई गर्दा डाक्टर बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । घरको कमजोर आर्थिक अवस्था, बुवाले भारतमा चौकीदारी गरेर पठाएको पैसाले परिवारको छाक टार्नुपर्ने परिस्थितिले उहाँ त्यो सपना देख्न पनि डराउनुहुन्थ्यो । तर, एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएपछि उहाँमा आँट भरिएर आयो ।

एमबीबीएस प्रवेश परीक्षा तयारीका लागि सहरमा बस्न आर्थिक अवस्था थिएन । त्यसैले घरमै बसेर उहाँले परीक्षा तयारी गर्नुभयो । ‘प्लस टुमा फिजिक्स पढाउने शिक्षक अनिल ओझाले केही बुक दिएर धेरै सहयोग गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘परीक्षा दिने बेला नै हो पहिलो पटक मैले काठमाडौं देखेको ।’ प्रवेश परीक्षामा उहााको नाम निस्कियो तर छात्रवृत्ति पाउने सूचीमा परेन । शुल्क तिरेर पढ्न पाउने सूचीमा नाम निस्किएपछि उहाँलाई झन् उकुसमुकुस भयो । किनकि परिवारको आर्थिक हैसियत राम्रो थिएन ।

त्यसैबीच उहाँले सुदूरपश्चिम प्रदेश सरकारले एमबीबीएस छात्रवृत्ति दिन्छ भन्ने थाहा पाउनुभयो । मंसिरमा उहाँ सामाजिक विकास मन्त्रालयले लिएको छात्रवृत्ति छनोट परीक्षामा सहभागी भए । पुसमा नतिजा प्रकाशित हुँदा राहुल पनि छानिनुभयो । उहाँको नाम युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भयो । त्यहाँ भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ सम्म तोकिएको थियो । तर, पैसाको जोहो गर्न सक्नुभएन । कलेजमा ४६ लाख कुल शुल्कमध्ये १५ लाख रुपैयाँ भर्ना हुने बेलै बुझाउनु पर्ने भनिएको थियो । त्यति पैसा जुटाउन सक्ने उहाँको परिवारसँग कुनै उपाय भएन ।

\उहाँले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका कर्मचारी, मन्त्री सबैसँग हारगुहार गर्नुभयो । आफ्नो भर्ना छुट्न थालेको जानकारी पनि गराउनुभयो । मन्त्रालयले माघ ३ गते ‘जो जससँग सम्बन्धित छ’ ब्यहोराको पत्र लेख्दै उनी छात्रवृत्तिमा छनोट भएको ब्यहोरा उल्लेख भएको पत्र राहुलको हातमा थमायो । उहाँ त्यही पत्र लिएर भैरहवा पुग्नुभयो । तर, कलेजले मानेन । ‘पत्रमा शुल्कसम्बन्धी कुरा लेखिएको छैन भन्दै फर्कायो,’ राहुलले भन्नुभयो, ‘त्यहीदिन भर्नाको अन्तिम थियो । त्यसपछि त मलाई डाक्टर पढ्ने सपना चकनाचुर भएजस्तै लाग्यो ।’

यता मन्त्रालयको उच्च शिक्षा महाशाखाका शाखा अधिकृत गोपालदत्त जोशी मन्त्रालयको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका ०७४, चौथो संशोधनले नै तत्काल रकम दिने व्यवस्था नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसपाली नाम निस्केर पढाइ सुरु गरेकालाई आगामी वर्षदेखि पाँच किस्तामा रकम उपलब्ध गराउने व्यवस्था छ ।’ त्यही कारण राहुललाई कुनै सहयोग गर्न नसकिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले हरेक वर्ष नौ जनालाई एमबीबीएस छात्रवृत्ति दिने गरेको छ ।

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech