‘कार-टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी

    • स्वास्थ्य पेज

  • २१ माघ २०८०, आईतवार

काठमाडौैं: क्यान्सर उपचारमा प्रयोग हुने ‘कार-टी सेल थेरापी’ को नेपालमा प्रयोगशाला परीक्षण सफल भएको दाबी गरिएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि संयुक्त राज्य अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट प्रमाणित सीडी -१९ कारको प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको जानकारी दिएको हो ।

रिजेनरेटिभ मेडिसिनको सीडी-१९ कार-टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्यूटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा सञ्जीवन गौतमले बताउनुभयो।

अति उच्च प्रविधियुक्त यो उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलोपटक भएको उहाँले जानकारी दिनुभयो । प्रयोगशालामा सफल कार–टी सेल थेरापीलाई गुड म्यानुफ्याक्चरिङ प्य्राक्टिस प्रविधियुक्त प्रयोगशालामा मानव प्रयोगका लागि उत्पादन गर्ने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको रहेको बताइएको छ।

रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको यो उपचार पद्दति नेपाल प्रयोगमा ल्याउँदा वर्षेनी एक सय जना भन्दा बढी बिरामी लाभान्वित हुने प्रक्षेपण रहेको  वीर अस्पतालको क्यान्सर विभागमा कार्यरत प्राडा. रमिला शिल्पकार बताउँनुहुन्छ । शिल्पकारका अनुसार यो पद्धति विस्तारै अन्य क्यान्सरमा पनि प्रयोग हुने क्रममा छ ।

नेपाली प्रयोगशालामा सफल परीक्षण गरिएको कार–टी सेललाई मानव प्रयोगमा ल्याउन कम्तिमा एक वर्ष लाग्ने यसमा संलग्न वैज्ञानिकहरुको प्रक्षेपण छ ।

 

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech