नेपालगन्जः पश्चिमी न्यूनचापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्ने भएकाले वर्षा र हिमपातसँगै चिसो बढ्ने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्नेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागका धेरै स्थानमा बदली हुनेछ । उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि तापक्रम घटेर हल्का चिसो बढ्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ । शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने विभागले स्पष्ट पारेको छ । “पश्चिमी न्यूनचापीय प्रणालीका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएको छ,” विभागले भनेको छ, “आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।”
आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो धेरै स्थानमा बदली हुने भएकाले चिसो महसुस हुने उनको भनाइ छ । “दिउँसो बदली हुने भएकाले दिउँसोको न्यूनतम तापक्रम घट्दा जाडो हुनेछ । पश्चिमी भू–भागमा बिहानको तापक्रम पनि घट्ने सम्भावना छ,” मौसमविद्लेको भनाइ छ। वर्षा र हल्कादेखि मध्यम हिमपात हुने भएकाले स्वभाविक रुपमा चिसो बढ्ने विभागको भनाइ छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । मौसमविद्का अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ ।
बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।