दही
गर्भावस्थामा प्राय:ले खान रुचाउने खानेकुरामध्ये पर्छ दही । यो प्रोटिन प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । दहीमा पाइने क्याल्सियमले गर्भवती महिलाको हड्डी बलियो पार्नुका साथै शिशुको हड्डी विकासमा मद्दत गर्छ । दहीमा स्याउ, केरा तथा विभिन्न फलफूल मिसाएर खानु फाइदाजनक हुन्छ । यसमा भएको भिटामिनले शरीरमा ऊर्जा र शक्ति प्रदान गर्ने, पानीको कमी हुन नदिने र पाचन प्रणाली बलियो बनाएर कब्जियतको समस्याबाट टाढा राख्छ । चिसो लाग्ने समस्या भएमा दहीमा थोरै वीरेनुन वा सादा नुन राखेर खान सकिन्छ ।दही सकेसम्म राति नखानु राम्रो हुन्छ । खानासँग, गाँजर वा काँक्रोमा मिसाएर बिहान वा दिउँसो दही खान सकिन्छ । नेपाली समाजमा गर्भवती महिलालाई दही चिउरा खुवाउने चलन पनि छ ।
खिचडी
खिचडी गर्भवती महिलाका लागि अर्को उत्तम खानेकुरा हो । दाल, चामल, मटरकोसा, गाँजर, आलु, गोलभेंडा, बोडी, प्याज र धनियाँ मिसाएर बनाइएको खिचडी पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन फाइबर सबै पोषण समावेश हुन्छ । यसले ऊर्जा प्रदान गर्नेदेखि पाचन क्षमतासमेत बढाउँछ । यसलाई खानाको सट्टा दिनको एक छाक वा एक दिन बिराएर खान सकिन्छ ।
चुकन्दर, पालक र पालुंगो
गर्भवती महिलालाई चुकन्दर, पालक र पालुंगो उपयुक्त खानेकुरा हुनसक्छ । यसमा भरपुर मात्रामा आइरन पाइन्छ । यसले आमा र बच्चामा रगतको कमी हुन दिंदैन र रक्तसञ्चार राम्रो बनाउँछ । यसलाई बिहान, दिउँसो र बेलुका जुनसुकै बेला खान सकिन्छ । यसलाई तरकारी, जुस, सलाद र रोटीलगायत खान सकिन्छ । पालुंगो साग र सबै खानेकुरामा हरियो सागपात मिलाएर खाँदा फाइदाजनक हुन्छ ।
दूध र दुग्धजन्य खानेकुरा
गर्भवती महिलाले दूध वा दुग्धजन्य पदार्थ उपयुक्त मानिन्छ । दही, पनिर, चीज, घिउको दैनिक उपभोग गर्न सकिन्छ । यसमा गर्भवती महिलालाई आवश्यक प्रोटिन भरपुर मात्रामा पाइन्छ । गर्भवती महिलाले बिहान र बेलुका गरी दिनमा एक लिटर दूध पिउनुपर्छ । दूधमा बेसार मिसाएर र खीर बनाएर खान सकिन्छ । त्यसैगरी पनिरको तरकारी, चीज र बिहान-बेलुका खानामा घिउ तताएर खान सकिन्छ । यो शाकाकारी तथा मांसाहारी जुनसुकै गर्भवती महिलाले सजिलै खाने परिकार हो । यसले ग्यास्ट्रिक वा पेटसम्बन्धी समस्याबाट टाढा राख्छ ।
पहेंलो फलफूल
पहेंलो फलफूल पनि गर्भवती महिलाको लागि सर्वोत्तम खानेकुरा हो । आँप, केरालगायत फलफूलमा भिटामिन ए र सी भरपुर मात्रामा पाइनुका साथै एन्टिअक्सिडेन्ट गुण पनि भरपुर हुन्छ । दैनिक खाइने दाल भात तरकारीसँगै भिन्डी, दालसँग मिसाएर कुरिलो, कुखुराको कलेजो, फर्सीको बीउ, सूर्यमुखीको बीउ, एभोकाडो, ब्रोकाउली खान सकिन्छ । यी खानेकुरामा भरपुर फोलिक एसिड पाइन्छ । यो बच्चाको मस्तिष्क र मेरुदण्ड विकासका लागि अतिआवश्यक हुन्छ । यसले रक्तकोषिका बनाउन मद्दत गर्छ । र, सुत्केरीका बेला हुने पीडालाई कम गर्न मद्दत गर्छ ।
(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.सुवेदी भेरी अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ)