लुम्बिनीका बाँकेसहित ४ जिल्लामा कुष्ठरोगीको संख्या उच्च

    • स्वास्थ्य पेज

  • १४ माघ २०८०, आईतवार

नेपालगन्जः लुम्बिनी प्रदेशका चार जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको पाइएको छ । प्रदेशका बाँके, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख खिमलाल पाण्डेले बताउनुभयो । लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६५ जना बिरामी रहेको जानकारी दिनुभयो ।

नयाँ रोग पत्ता लाग्ने दर समेत यी जिल्लाहरुमा उच्च रहेको छ । प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार यी जिल्लाहरुमा प्रति १० हजार जनामा एक जना भन्दा कम हुनुपर्ने ‘प्रीभिलेन्स’ २ भन्दा माथि रहेको छ । जसको कारण देशभरको तथ्यांक भन्दा लुम्बिनी प्रदेशको प्रीभिलेन्स दर बढि भएको पाइएको हो । पाण्डेले गत आर्थिक बर्षमा देशभरबाट २ हजार ५ सय २२ जना कुष्टप्रभावित व्यक्तिहरुमाथि लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६२ जना रहेको जानकारी दिनुभयो ।

उहाँले ४ महिनामा प्रदेशमा १ सय २७ भन्दा बढि नयाँ केस समेत पत्ता लागेको जानकारी दिदै अझै अन्य जिल्लाहरुमा पनि मिहिन तहले छानविन नगरी केश पत्ता लगाउने जनशक्ति नहुँदा यो संख्या बढ्न सक्ने समेत बताउनुभयो । विगत ६ बर्षमा लुम्बिनी प्रदेशमा कुष्ठ प्रभावितहरुको संख्या कोरोना कहरमा अली कम देखिएपनि अन्य बर्षमा भने उच्च नै देखिएको छ । ०७४/७४ मा ७००, अर्को बर्ष ५०१, ३९, ५१६, ५४३ रहेको थियो ।

अघिल्लो आर्थिक बर्षमा २०७९÷९०मा ५६५ जना रहेकोमा यो बर्ष चार महिनामा १ सय ४८ जना कुष्ठ प्रभावित रहेका छन् । यस्तै कुष्ठ प्रभावितहरु नयाँ पत्ता लाग्ने दर समेत प्रदेशमा विस्तारै बढ्दै गएको पाइएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका छाला रोग विशेषज्ञ डा. कमल आचार्यले बच्चाहरूमा कुष्ठरोग देखिनु भनेको समुदायस्तरमा कुष्ठरोग व्यापक रुपमा फैलिएको हुन सक्ने अनुमान लगाउन अफ्ठ्यारो नहुने बताउनुभयो ।

सबै जिल्लामा छालारोग विशेषज्ञ पठाउन नसक्दा कुष्ठ रोगका बिरामीको पहिचान गर्न समेत नसकिएको उहाँको भनाइ छ । अहिले पनि यो रोगको बारेमा समाजमा नकारात्मक धारणा रहेकाले त्यस्ता धारणलाई हटाउनु आवश्यक रहेको उनले बताए । समयमै उपचार भएको खण्डमा उक्त रोग निको हुने भएकाले बिरामीलाई हौसला दिन आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारले एक दशक अघि नै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि लुम्बिनी प्रदेशमा भने अझैं पनि कुष्ठरोगीको संख्यामा आशातित कमी आउन सकेको छैन।

  • १४ माघ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech