नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले सरुवा वदरको मागसहित दायर गरेको रिट उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले खारेज गरेको छ । पौडेललाई लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले गएको साउन ३१ गते स्वास्थ्य निर्देशनालय दाङमा सरुवा गरेको थियो ।
नियमित प्रक्रिया भन्दै मन्त्रालयले पौडेलसहित ठूलो संख्यामा प्रदेशका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको थियो । अन्य सबै कर्मचारी सरुवा भएका स्थानमा रमाना बुझेर गएपनि स्वास्थ्य कार्यालय बाँकेको प्रमुख समेत रहेकी पौडेलले भने सरुवा बदरको माग गर्दै अदालत पुग्नुभएको थियो ।
लुम्विनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाइ दायर रिटको हिंजो अन्तिम सुनुवाइ गर्दै उच्च अदालतका न्यायधीशद्धय टंक गुरुङ र गोविन्द जोशीको संयुक्त इजलासले पौडेलको रिट खारेज गरेको हो ।
लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयको सरुवाको निर्णयलाई उच्चले सदर गरिदिएको छ । उच्चको निर्णयसँगै वरिष्ठ जनस्वास्थ्य अधिकृत पौडेल अव स्वास्थ्य निर्देशनालय दाङमा हाजिर हुनुपर्नेछ ।