विशेषज्ञ डाक्टरलाई प्रश्नः मिर्गौलामा पत्थरी भएमा बियर पिए ठिक हुन्छ र ?

    • स्वास्थ्य पेज

  • ३ माघ २०८०, बुधबार

मिर्गौलामा पत्थरी भएमा डाक्टरले नै बियर पिउने सल्लाह दिन्छन् भन्ने कुरा पूरा सत्य होइन र डाक्टरले त्यस्तो सल्लाह दिन पनि मिल्दैन । पिसाब कम बनेको अवस्थामा क्रिस्टल थिग्रिएर ढुंगा बन्छ । पिसाब उचित मात्रामा लाग्यो भने सानो साने ढुंगा पिसाबबाटै निस्कन सक्छ । त्यसैले उचित मात्रामा पिसाब बन्न प्रशस्त मात्रामा तरल पदार्थ पिउनुपर्छ भन्ने सल्लाह चाहिं हामी दिन्छौं । पानी, दाल, दही, मोही लगायतका तरल पदार्थ दैनिक तीन लिटर खानुपर्छ । बियर पिउँदा अन्य तरल पदार्थको तुलनामा बढी पिसाब हुने भएकाले बियर पिउँदा ढुंगा मर्छ भन्ने कुरा आम मानिसले गरेका  हुन् । तर पत्थरीमा बियर पिउनु भनेर सल्लाह दिनु गलत हो ।

मिर्गौलामा पत्थरी भएको भन्दै बियर खाँदा त्यसले अरू अंगमा हानि गर्छ होला नि ?

मिर्गौलामा पत्थरी भएको भन्दै धेरै बियर पिउँदा अन्य अंगमा हानि गर्न सक्छ । पत्थरी निकाल्न भन्दै धेरै बियर पिएर ‘अल्कोहल पोइजनिङ’ भएर अस्पताल आएर आईसीयूमै भर्ना गर्नु परेको घटना पनि  छन् । त्यसैले पत्थरी निकाल्न भन्दै धेरै बियर पिउनु गलत हो ।

मिर्गौलाको पत्थरी भएमा के के छ उपचार ?

पत्थरी सामान्य प्रकारको छ भने यस्तो उपचार विधिको प्रयोग गरिन्छ । यस्तो उपचार औषधिको सेवनबाटै सम्भव हुन्छ । यदि पत्थरी स–साना छन् भने बिरामीलाई औषधि र पानीको मात्रा बढाउन लगाइन्छ । जसका कारण पत्थरी सजिलै पिसाबसँगै बगेर जान्छ ।

अर्को उपचार विधि भनेको ‘ओपन स्टोन सर्जरी’ हो । जुन चिरेर पत्थरी निकाल्ने गरिन्छ । निकै ठूलो पत्थर भएको अवस्थामा यस्तो विधि अपनाइन्छ । अर्को उपचार विधि भनेको इएसडब्लुएल हो । यो पनि नचिरीकनै गरिने अप्रेसन हो । यस्तो विधिमा बाहिरबाटै सेकेर पत्थरलाई फुटाइन्छ । र, त्यो फुको पत्थरलाई पिसाबको माध्यमबाट बगाइन्छ ।

छालाबाट प्वाल पारेर पनि पत्थरीको उपचार गरिन्छ । यस्तो उपचार विधिलाई पीसीएनएल भनिन्छ । यस्तो अप्रेसन गर्दा प्वालबाट दुई प्रकारका पाइप छिराइन्छ । एउटा स्टाडर्ड पीसीएनएल पाइपको प्रयोग गरिन्छ । अर्को चाहिं मिनी पीसीएनएल पाइप । खासगरी सानो खानको पत्थरको लाग मिनी पीसीएनएल पाइपको प्रयोग गरिन्छ । त्यही प्वालबाट पाइपबाट टेलिस्कोपको माध्यमले पत्थरीको अवस्था अवलोकन गरिन्छ । र, त्यही पाइपबाट पत्थर निकालिन्छ ।

अर्को शल्यक्रिया विधिलाई यूआरएस भनिन्छ । विशेषगरी पिसाब नलीमा पत्थरी भएको अवस्थामा यस्तो विधिको सहारा लिने गरिन्छ । मिर्गौलामा भएको पत्थरीमा यस्तो विधि अपनाउँदै अपनाइँदैन भन्ने चाहिं होइन । यस्तो प्रकृतिको उपचार गर्दा पहिला पिसाबनलीबाट पाइप छिराएर पत्थरलाई फोड्ने काम गरिन्छ । जसको लागि फ्लेक्जिबल युरिन लेजरको प्रविधि प्रयोग हुन्छ । अनि पत्थरी झिक्ने काम गरिन्छ ।

पत्थरी हुनै नदिन के गर्ने ?

पत्थरीको समस्याबाट जोगिन दैनिक तीन लिटर पानी पिउनुपर्छ । खानामा नुनको मात्रा कम गर्नुपर्छ । नुनको मात्रा कम गरेमा पत्थरी बन्न धेरै कम हुन्छ । योसँगै तौलमा नियन्त्रण हुनुपर्छ र प्रोटिनयुक्त खाना कम खानुपर्छ । ढुंगा सानो हुँदा नै पत्ता लाग्यो भने सामान्य उपचारबाट पनि निको हुन सक्छ । त्यसको लागि वर्षमा एक पटक पिसाबको रुटिन जाँच, भिडियो एक्सरे गर्नुपर्छ ।

.डा रविनबहादुर बस्नेत
प्रमुख कन्सल्टेन्ट युरोसर्जन

  • ३ माघ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech