नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले देशको स्वास्थ्य क्षेत्रमा भयावह अवस्था आउन लागेकोतर्फ संसदीय समितिलाई सचेत गराउनुभएको छ। उहाँले केन्द्रीय अस्पतलाहरूका लागि तत्काल १६ हजार दरबन्दी तत्काल चाहिएको बताउनुभयो । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सचिव पोखरेलले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरूले गरेको प्रस्ताव स्वीकृत नभए ५ सय शय्याका केन्द्रीय अस्पतालहरू बन्द हुने अवस्था रहेको बताउनुभयो ।
हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालनको लागि दरबन्दी आवश्यक रहेको उहाँको भनाइ छ । सो दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन उहाँले समितिका सदस्यसँग आग्रह गर्नु भएको छ । त्यसैगरी अस्पतालहरू बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिए पनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उहाँको प्रष्टोक्ति थियो ।
पोखरेलले भन्नुभयो- ‘अर्को एउटा नीतिमा आएको हामीले नसक्ने काम पनि छ । प्रत्येक स्थानीय तहमा विशेषज्ञ ५ जना डाक्टर पठाउनु भन्ने पनि नीतिमा आयो । जुन सम्भव छैन । मुख्य अर्थमन्त्रालयबाट यो दरबन्दी र ओएनएमलाई पास गर्नका लागि सहयोग पुर्याइ दिनुहुन्छ भनेर मैले अन्तिम अनुरोध गरेँ । केन्द्रीय अस्पतालमा हामीलाई १५ देखि १६ हजार तुरुन्तै चाहिनेछ । यो भएन भने हाम्रा ५ सय बेडका केन्द्रीय अस्पताल हुँदैनन् । र, आगामी दिनमा बन्दै गरेका ५, १० र १५ बेडका अस्पतालको एउटा प्रस्तावित दरबन्दीको आर्थिक पाटोमा नेपाल सरकारले दिएन भने ती अस्पताल चल्दैनन् । अर्थबाट यसको क्लियरेन्स आयो भने बल्ल यी ५, १०, १५ बेडका अस्पतालमा भौतिक संरचनाका साथसाथै ह्युमन रिसोर्स पूर्ति हुने देखिन्छ । नत्र भने यी चाहीँ नचल्ने हुन कि भन्ने हामीलाई डर छ ।’
बैठकमा नेकपा एसकी सांसद मदनकुमारी साह (गरिमा) ले जिल्लामा रहेका सरकारी अस्पतालहरू बन्द हुने अवस्थामा पुग्दा पनि संवेदनशील नभएको भन्दै सरकारको आलोचना गर्नुभयो । प्रादेशिकस्तरमा रहेका आयुर्वेद अस्पतालहरूबाट जनताले सेवा लिन नपाएकोतर्फ पनि सरकारलाई सचेत गराउनुभयो । जनताले सेवा नपाउने अस्पतालमाथि सरकारले कडा निगरानी राख्नुपर्ने उहाँको भनाइ थियो ।