नेपालगन्जः तरुलमा कार्बोहाइड्रेट, क्यालोरी, प्रोटिन, भिटामिनहरू, मिनरल, फाइबरलगायत मानव शरीरलाई फाइदा पुर्याउने तत्त्वहरू हुने बताउनुहुन्छ त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा अच्युत अधिकारी। जाडो मौसममा देखिने विभिन्न स्वास्थ्य जटिलताका कारण मानिसहरूको प्रतिरक्षा प्रणाली बलियो हुनुपर्ने र त्यसका लागि तरुल उपयुक्त खाद्य पदार्थ भएको डा. अधिकारीको भनाइ छ। “यसले ऊर्जासँगै हाम्रो शरीरमा आवश्यक हर्मोन बनाउन कच्चा पदार्थको काम गर्छ। विशेषगरी जाडो महिनामा उत्पादन राम्रो हुने भएकाले यसै मौसममा यसको विभिन्न परिकार खाइन्छ। तर यो जुनसुकै मौसममा खान उपयुक्त कन्दमूल हो,” उहाँले भन्नुभयो ।
जाडोमा लाग्ने रुघा, खोकीजस्ता स्वास्थ्य समस्याहरूका कारण मानिसको प्रतिरक्षा क्षमता घट्ने र त्यसलाई बढाउन तरुल उपयुक्त हुने पोषणविद् आस्था कार्कीको भनाइ छ । पोषणबारे पैरवी गर्ने संस्था मिताहारकी सह संस्थापक कार्कीका अनुसार तरुलमा पर्याप्त प्रोटिन, भिटामिन सी र भिटामिन बी कम्प्लेक्स हुने भएकाले यसले जाडोमा हुने समस्यासँग लड्ने क्षमता बढाउने हो। तरुलका रेसाहरूले मानिसको पेटमा रहेका राम्रा जीवाणुहरूलाई झन् राम्रो बनाउँछ र आन्द्रा स्वस्थ बन्ने उहाँले बताउनुभयो।
“आन्द्रा स्वस्थ हुनासाथ पेटसम्बन्धी धेरै समस्या समाधान हुन्छ। विशेषगरी पाचन क्षमता बढ्छ वा दिसा नियमित नहुनेलाई फाइदा गर्छ,” कार्कीले भन्नुभयो । त्यस्तै तरुलमा भएको फाइबरले शरीरको कोलेस्ट्रोल कम गर्न सघाउने उहाँको भनाइ छ। तरुलले आन्द्रालगायत अन्य शारीरिक अङ्गमा हुने क्यान्सरको जोखिमसमेत कम गर्ने उहाँले बताउनुभयो।
आन्द्राको स्वास्थ्य र मानिसको मानसिक स्वास्थ्य सम्बन्धित भएकाले तरुलले मानिसको सोच्न सक्ने क्षमता वा स्मरण शक्ति पनि राम्रो बनाउने जानकारहरू बताउँछन्। मुटुका बिरामी, वृद्धवृद्धाको हकमा हड्डीको क्याल्सियम कम हुने समस्या नियन्त्रण गर्न र महिलाहरूको महिनावारी रोकिनुअघि देखिने शारीरिक परिवर्तनको असर कम गर्न तरुल उचित पोषणको स्रोत भएको पोषणविद् कार्कीले जानकारी दिनुभयो ।
सामान्यतया एक छाकमा मानिसले एक सय ग्रामसम्म तरुल खाँदा स्वास्थ्यमा कुनै असर नपर्ने बताइन्छ। तर, मधुमेह भएका मानिसले भने त्यसमा हुने कार्बोहाइड्रेटको मात्राका कारण तोकिएभन्दा कम खानु उचित हुने कार्कीको सुझाव छ। “खाँदै नखानु भन्ने होइन तर मात्रा चाहिँ आवश्यकता अनुसार मिलाउन सक्नुपर्छ। मधुमेहको औषधि सेवन गरिरहेका सबैले स्वास्थ्यस्थितलाई ध्यानमा राखेर कम खानु राम्रो हुन्छ,” उहाँले भन्नुभयो ।