पछिल्लो समय बदलिंदो खानपान र विलासी जीवनशैलीका कारण मिर्गौला समस्या जटिल बन्दै गइरहेको छ । सुरुमा मानिसहरुमा सुगर, प्रेसर र बाथ रोग सम्बन्धी समस्या देखिन्छन् । ती समस्याहरुको समयमै प्रभावकारी रुपमा उपचार हुन नसक्दा समस्या बढ्दै गएर मिर्गौलामा समस्या हुन्छ । मिर्गौला सम्बन्धी समस्याको समयमै उपचार हुन नसक्दा मिर्गौलाले काम गर्न छाड्दैं जान्छ । मिर्गौलामा कुनै समस्या देखिनासाथ डायलाइसिस गर्नुपर्ने अवस्था हुँदैन् ।
त्यसका पनि स्टेजहरु छन्, स्टेप एकबाट पाँचौंसम्म पुग्नका लागि करिब दुई वर्षसम्म लाग्न सक्छ । त्यो दुई वर्षलाई २० वर्ष बनाउन नियमित रुपमा ब्यायाम, नुन र प्रोटिनजन्य खानेकुरामा कन्ट्रोल, चेकजाँच र औषधी सेवन गर्नु पर्छ । मिर्गौला कामै गर्न छाडेका बिरामीलाई डायलाइसिस गर्नुपर्ने हुन्छ भने अन्तिम विकल्प भनेको मिर्गौला प्रत्यारोण नै हो । समयमै रोगको पहिचान गरी उपचार गर्न नसक्दा मिर्गौला फेल भएर बिरामीहरुले नियमित रुपमा डायलाइसिस गराइरहेका छन् ।
चिकित्सकहरुले मिर्गौला फेल भएका बिरामीहरुले सकेसम्म छिटो मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिने गरेका छन् । तर, नेपालमा मिर्गौला प्रत्यारोपण त्यति सहज र सबैको पहुँचमा छैन । कतिपयलाई यसबारेमा जानकारीको समेत अभाव देखिन्छ । नेपाल सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरेको छ । करिव चार पाँच लाखमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । त्यो पूर्वका चेकजाँचमा बढीमा दुई लाखसम्म खर्च हुने गरेको छ । मिर्गौला प्रत्यारोपण नगरेका वा गर्न मेसो नपाएका अधिकांश बिरामीहरुले नियमित रुपमा डायलाइसिस गराएर जीवनलाई लम्बाइ रहेका छन् ।
डायलाइसिस मिर्गौला रोगको अन्तिम उपचार होइन । अझै पनि कैयौ बिरामीहरु डायलाइसिससमेत गराउन नसकेर ज्यान गुमाउन बाध्य छन् । मिर्गौला रोगका लाग्दा खानामा रुचि कम हुने, शरीर सुन्निने, श्वास फेर्न गाह्रो हुने, थकाइ लाग्ने निन्द्रा नलाग्ने, जीउ चिलाउने र अस्वस्थ महसुस गर्नेजस्ता लक्षण देखिन्छ । ३५ वर्ष उमेर पुगेको ब्यक्तिले एउटा मात्रै लक्षण देखिएपनि मिर्गौला खराब भएर हो कि भन्ने आशंका गरेर चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
सुगर, प्रेसर र बाथरोगका बिरामीले त झन नियमित स्वास्थ्य चेकजाँच गर्नैपर्छ । फेरी मिर्गौला स्वस्थ भए नभएको थाहापाउन लागत खर्च पनि धेरै छन् । पिसाव, रगत र भिडियो एक्स रे गरे मिर्गौलाको अवस्था थाहा हुन्छ । सुगर र प्रेसर भएका बिरामीले कम्तिमा ६-६ महिनामा चेकजाँच गर्नुपर्छ । सुगर र प्रेसर नभएका मानिसहरुले पनि वर्षमा एक पटक चेकजाँच गर्न उपयुक्त हुन्छ । किनभने नसर्ने रोगको प्रभाव फरक छ । ५० प्रतिशत असर पुर्याइसकेपछि मात्रै यसको लक्षण देखिन्छ वा महसुस हुन्छ । नत्र यसको दुखावट समेत थाहा हुदैन् । एउटा मात्रै त लक्षण हो नि भनेर हेलचेक्र्याइ गर्दा मिर्गौला ड्यामेज नै हुने जोखिम धेरै हुन्छ ।
मिर्गौलालाई स्वस्थ राख्ने अर्को उपाय भनेको मिर्गौला फेलिएर हुने कारणहरुबाट सतर्क हुनु नै हो । मिर्गौला फेल हुने सबभन्दा मुख्य कारण डाइबिटिज (सुगर) हो । यदि सुगरलाई नियन्त्रणमा राख्न सक्यो भने त्यसबाट पनि अप्रत्यक्ष रुपमा मिर्गौलालाई सहयोग नै पुगिराखेको हुन्छ । त्यसपछि प्रेसरलाई पनि नियन्त्रणमा राख्न जरुरी छ ।, पेनकिलर तथा बढी मात्रामा औषधी सेवनले पनि मिर्गौला फेल हुने जोखिम हुन्छ । मिर्गौला रोगबाट बच्नका लागि स्वास्थ्य सचेतना अभियान संचालन गर्न अत्यावश्यक छ । सुगर र प्रेसर भएको मान्छे पाँच, छ वर्षदेखि नियमित औषधी खाइरहेको छ भने उसले नियमित चेकजाँच गराएर औषधी थपघट गर्नुपर्ने हुन्छ ।
सधैं एउटै औषधी खाएर मात्रै हुँदैन् । त्यसैगरी, खानेकुरामा पनि नुन र प्रोटिन धेरै भएको खानेकुराहरु कन्ट्रोल गर्नुपर्छ । सरकारले पनि मिर्गौला रोगका बारेमा जनेचतना जगाउने खालका कार्यक्रमहरु ल्याउन आवश्यक छ । डायलाइसिस र प्रत्यारोपणमा बढी जोड दिएको जस्तो देखिन्छ । तर रोकथामका सवालमा खासै कार्यक्रमहरु भएको देखिदैन् । मिर्गौला स्वस्थ राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्ने हुन्छ । दैनिक २–३ लिटरभन्दा बढी पानी पिउने मानिसमा मिर्गौलाको रोग लाग्ने सम्भावना न्यून हुन्छ ।
पानीले शरीरमा भएको खराब तत्वलाई पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौला स्वस्थ्य खानामा चिनी तथा नूनको मात्रा घटाउनुपर्छ । धेरैजसो खानेकुराहरुले मिर्गौलामा नै बढी असर गर्छ । पानी धेरै खादा शरीरलाई नचाहिने तत्वहरु मिर्गौलामा थेग्रिन पाउँदैन् । पानी धेरै खायो भने पखाल्दै जान्छ । तर, एक पटक चेकजाँच गरेपछि फ्लोअपमा चिकित्सकलाई नभेटी चिकित्सकको सल्लाह बिनै बिरामी आफैले औषधी किनेर लामो समयसम्म औषधी खाने समस्या हाम्रो समाजमा अझै पनि कायमै छ ।
चिकित्सकको परामर्श बिनै वर्षौसम्म औषधी खाँदा त्यही औषधीले साइड इफेक्ट गरेर मिर्गौलामा असर पु¥याएका घटनाहरु पनि बढ्दै गएको पाइन्छ । अझै पनि धेरैजसो मानिसहरूलाई मिर्गौलामा लाग्ने रोगको बारेमा जानकारी छैन् । जानकारी नभएकै कारण मिर्गौला खराब भइसकेपछि मात्र चिकित्सकसम्म पुग्छन् । जब ८०– ९० प्रतिशत मिर्गौला बिग्रेपछि अन्तिम अवस्थामा पुगेका बिरामीलाई डायलाइसिस अथवा प्रत्यारोपण गर्नुपर्ने विकल्प मात्रै बाँकी रहन्छ ।
(पश्चिम नेपालका एक्ला मिर्गौला रोग विशेषज्ञ डा.सौरभ हमाल भेरी अस्पताल नेपालगन्जसँगै एबी नेफ्रोलोजी तथा पेडियाट्रिक क्लिनिकमा कार्यरत हुनुहुन्छ)