जाडोमा बालबालिकालाई कसरी सुरक्षित राख्ने ?

    • डा.रोमा बोरा/बालरोग विशेषज्ञ

  • २७ पुष २०८०, शुक्रबार

कान्ति आरोग्य अस्पतालका संचालक समेत रहेकी बरिष्ठ बालरोग विशेषज्ञ डा.रोम बोरा ।

अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो। जाडो मौसममा बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ। बालबालिकामा जाडो मौसममा लाग्ने मौसमी रुघा–खोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुने गर्छ। चिसोमा सरसफाइ गर्न बालबालिकाले अल्छी गर्ने र अभिभावकले बेवास्ता गर्दा सरसफाइको कमी हुन जान्छ। जसले गर्दा रुघाखोकी, रुघाखोकीका कारण हुने निमोनिया र सरसफाइको कमीले हुनसक्ने रोग र संक्रमणको जोखिम बालबालिकामा बढी हुनसक्छ। यस्तै झाडापखलाको समस्या पनि हुन सक्छ ।

झाडापखाला भन्ने वित्तिकै मानिसहरुले गर्मी मौसममा फोहोरका कारणले हुन्छ भन्ने सोचाइ राख्छन्। तर जाडो मौसममा चिसोका कारण हुने संक्रमणले भाइरल पखाला गराउन सक्छ। बोल्न सक्ने उमेरका बालबालिकाले चिसो लागेको कुरा आफ्ना अभिभावकलाई भन्न सक्छन्। तर नवजात शिशुलाई चिसो लागेको कुरा अभिभावकलाई भन्न सक्दैन। यस्तो अवस्थामा आमा–बुबाले नवजात शिशुमा देखिएको लक्षण र व्यवहार हेरेर चिसो लागेको थाहा पाउनुपर्ने हुन्छ। विशेषगरी नवजात शिशुको शरीर चिसो छ भने चिसो लागेको हुनसक्छ। आमाले शिशुलाई स्तनपान गराउँदा शिशु न्यानो छ वा चिसो छ भन्ने थाहा पाउन सक्छिन्।

शिशुलाई दूध चुसाउँदा आमाको छातीमा टाँसेर राख्ने क्रममा यदि बच्चा चिसो छ भने चिसो लागेको हुनसक्छ। नवजात शिशुमा भएको चिसोपना हातखुट्टा, तालु, पैतालामा छाम्दा आमाले चिसो महसुस गरेर थाहा पाउन सकिन्छ। धेरै अभिभावकले के खायो भने बच्चालाई चिसो लाग्छ ? कस्तो खानपानले चिसोबाट बचाउन सकिन्छ भनेर सोध्नुहुन्छ। चिसो मौसममा बाहिरी वातावरण चिसो हुने भएकाले पानीको प्रयोगले चिसो हुनसक्छ। चिसो मौसममा राम्रोसँग बाक्लो कपडा नलगाउँदा पनि चिसो लाग्छ। कतिपयले चिसो मौसममा यस्तो खानु हुँदैन, उस्तो खानु हुँदैन भनेर छुट्याउनु हुन्छ। खासमा खानेकुराकै कारण चिसो लाग्ने भन्ने हुँदैन। तर चिसो लागेका बालबालिकालाई चिसो खानेकुरा खुवाउँदा भने चिसो बढ्ने र स्वास्थ्यमा समस्या देखिने सम्भावना हुन्छ।

चिसोबाट बालबालिकालाई बचाउन विशेषगरी टाउको न्यानो बनाउनुपर्छ। त्यसैले बालबालिकालाई कान छोपिने गरी टोपी लगाइदिनु पर्छ। बालबालिकालाई न्यानो राख्न शरीरलाई मात्र नभई हातखुट्टा र टाउकोमा पनि चिसो नपस्ने गरी कपडा लगाइदिनुपर्छ। चिसोको समयमा प्रशस्त मात्रामा झोल खानेकुरा खुवाउनुपर्छ। चिसोबाट बचाउने नाममा धेरै तातो खानेकुरा खुवाउनु पनि हुँदैन। मनतातो खानेकुरा खुवाउनुपर्छ। चिसो मौसममा बालबालिकामा लाग्ने कस्तो रुघाखोकी कडा खालको हो भनेर चिन्न सक्नुपर्छ। साधारण रुघाखोकी लाग्ने वित्तिकै अस्पताल नै आइहाल्नु पर्दैन। तर नवजात शिशुमा खतराका लक्षण वा चिह्न अर्थात् शिशु ज्यादै चिसो भएमा, शिशुले आमाको दूध नचुसेमा, शिशुलाई श्वास फेर्न गाह्रो भएमा र शिशुलाई धेरे कोखा हानेमा तुरुन्त अस्पतालमा लैजानुपर्छ।

ठूला बालबालिकाको हकमा पनि उच्च ज्वरो भएमा, राम्रोसँग खाना नखाएमा, छिटोछिटो श्वास फेरेमा श्वास फेर्दा कोखा हानेमा अस्पताल लग्नुपर्छ । अभिभावकले बालकालिकालाई चिसोबाट बचाउन विभिन्न उपाय अपनाएका हुन्छन्। चिसोबाट बचाउने पहिलो उपाय भनेको बच्चालाई न्यानो कपडा, पञ्जा, मोजा, टोपी लगाइदिनु पर्छ। जसले गर्दा बालबालिकाको शरीर न्यानो हुन्छ। तर वातावरण नै तातो राख्नलाई कोठा तातो, न्यानो पार्नु पर्छ। त्यसका लागि कोइला, हिटर वा आगो बाल्ने चलन छ।

यसरी आगो, कोइला वा हिटरको प्रयोग गर्दा सावधानी भने अपनाउनु पर्छ। हिटर आगो वा कोइलाको नजिक बस्दा पोल्ने सम्भावना हुनुका साथै कोठामा कार्बोनमनोअक्साइडको कारणले गर्दा श्वास फर्न गाह्रो भई बालबालिका बेहोस हुने सम्भावना रहन्छ। त्यसैले हिटर, आगो वा कोइलाको प्रयोग गर्दा झ्याल–ढोकाबाट हावा प्रवाह हुने वातावरण बनाउनुपर्छ। कोठालाई तातो बनाउने भन्दै भेन्टिलेसन नै नभएको कोठामा झ्याल–ढोका बन्द गरेर कोइला, आगो वा हिटर बाल्नु हुँदैन।

बालबालिकालाई चिसोका कारण हुने खतराका चिह्नहरु जस्तैः निमोनियाका लक्षण देखियो, जलवियोजन भयो भने चिकित्सकले सिफारिस गरेको औषधि खुवाउनु पर्छ। बालबालिकालाई जाडो मौसममा हुने रोगबाट बचाउन न्यानोका साथै खानपान स्वस्थकर र पोषणयुक्त हुनुपर्छ। सरसफाइमा कमी गर्नु हुँदैन। चिसो नलाग्ने गरी बालबालिकालाई घरभित्रै सक्रिय बनाउने खेलहरु खेलाउनु पर्छ।

(बालरोग विशेषज्ञ डा.रोमा बोरा कान्ति आरोग्य हस्पिटल नेपालगन्जमा कार्यरत रहनुहुन्छ)

  • २७ पुष २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech