बाँकेमा शितलहर, त्यसैमाथि चल्ने चिसो हावाले नागरिकलाई घर बाहिर निस्कनै मुश्किल

    • स्वास्थ्य पेज

  • २६ पुष २०८०, बिहीबार

नेपालगन्जः केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले तराईमा चिसो हृवात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा चिसो बढेको छ । बाँकेमा दुई दिनदेखि शितलहर पर्न सुरु गरेको छ । सिमसिम पानीजस्तै पर्न थालेपछि चिसो थप बढेको छ । बाँकेमा अधिकतम तापक्रम १३ डिग्रीको आसपासमा झरेको छ । ४० डिग्री माथिको तापक्रममा अभ्यस्त नेपालगन्जबासी तापक्रम १३ डिग्री आसपासमा झरेपछि अधिक चिसोको महसुस गरेका छन् ।

हातखुट्टा ठिहिर्याउने चिसोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल कम भएको छ । सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोका कारण सेवाग्रहीहरु पातलिएका छन् । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन । साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन । चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ ।

चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् । बाक्लो हुस्सु र शीतका कारण राजमार्गको यातायात पनि प्रभावित भएको छ । कठ्याग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्नाले सवारी साधानको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुड्न बाध्य छन ।

बाक्लो कुहिरोका कारण यातायातका साधनहरु दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक कार्यालयले अनुरोध गरेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयले पनि चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विषेश ध्यान दिन अनुरोध गरेको छ ।

  • २६ पुष २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech