स्वास्थ्यमन्त्री खनाललाई अध्यक्ष पौडेलले भन्नुभयो-‘राप्तीसोनारीमा प्रदेश अस्पताल बनाउनु पर्‍यो’

    • स्वास्थ्य पेज

  • २५ पुष २०८०, बुधबार

नेपालगन्जः राप्तीसोनारी गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्न चाहेको भन्दै भूमिका निर्वाहका लागि आग्रह गरेको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालसहितको टोलिसँगको भेटघाटमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाको पालिकाले प्रवाह गर्ने स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्न चाहेको भन्दै भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । स्वास्थ्यमन्त्री खनालसँग अध्यक्ष पौडेलले भने–‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश सरकारसँग हामी समन्वय र सहकार्य गर्न चाहान्छौं त्यसकालागि मन्त्री ज्यूले प्रभावकारी भूमिका निर्वाह गर्नुहुने छ भन्ने विश्वास छ ।’

अध्यक्ष पौडेलले पालिकामा प्रदेश अस्पतालको माग समेत गर्नुभयोे । ‘बाँकेमा प्रदेश अस्पताल छैन उहाँले भने–‘राप्तीसोनारी अस्पतालाई प्रदेश अस्पतालमा स्तरबृद्धिका लागि म अनुरोध गर्न चाहान्छु ।’ भुगोल र जनसंख्यामा समेत राप्तीसोनारी ठूलो रहेकाले प्रदेश अस्पतालको आवश्यकता रहेको उहाँले प्रष्ट्याउनुभयो । राप्तीसोनारीमा प्रदेश अस्पतालको सम्भावना बारे बताउँदै उहाँले छिमेकी जिल्ला दाङको देउखुरी क्षेत्र र नरैनापुरबासीलाई समेत सेवा प्रवाह गर्न सक्ने बताउनुभयो । जनशक्ति र उपकरण अभावका बीच राप्तीसोनारी अस्पतालले सेवा प्रवाह गरिरहेको भन्दै उहाँले यसलाई थप व्यवस्थित र स्तरीय बनाउन प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको अध्यक्ष पौडेलको भनाइ छ ।

आफ्नै कार्यकक्षमा प्रदेशका स्वास्थ्य मन्त्री खनाल, स्वास्थ्य सचिव डा.जर्नाधन पन्थी, स्वास्थ्य निर्देशक डा.बिनोद गिरीमाझ प्रस्तुत हुनुभएका अध्यक्ष पौडेलले यही अवस्थामा अस्पताल समेत चलाउन मुश्किल परिरहेको अथार्थता अवगत गराउनुभयो । ‘जनशक्ति र उपकरण अभावकाबीच यसैगरी कति दिन सेवा दिन सकिन्छ उहाँले भन्नुभयोे–‘कम्तिमा यसलाई प्रदेश अस्पतालकारुपमा स्तरवृद्धि गरेर थप गुणस्तरीय र प्रभावकारी सेवा दिनु प¥यो । यसमा प्रदेश सरकारले अग्रसरता देखावस ।’ उहाँले पालिकामा खोप भण्डार केन्द्र निर्माणका लागि पनि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी पालिकामा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्नका लागि सचेतीकरण कार्यक्रम जरुरी रहेको औल्याउनुभयो । त्यसका निमित्त प्रदेश सरकारसँग समन्वय गर्न चाहनेको पनि उहाँले बताउनुभयो । राप्तीसोनारी अस्पतालको १५ शैयाको भवन अहिले निर्माणाधिन अवस्थामा छ । उक्त भवनसँगै जनशक्ती र उपकरण थप गर्ने हो भने राप्तीसोनारीमात्र नभएर छिमेकी पालिकाका स्थानीयबासीलाई स्वास्थ्यमा सहज पहुँच प्रदान गर्न सकिने पालिकाका प्रवक्ता समेत रहेका अस्पताल विकास समिति अध्यक्ष मीनराज खड्काले बताउनभयो ।

उहाँले पनि सेवालाई स्तरीय बनाउन जनशक्ति र उपकरणको सहयोग प्रदेश सरकारले गर्नुपर्ने धारणा राख्नुभएको थियो । त्यसक्रममा स्वास्थ्यमन्त्री खनालले जनशक्ति र उपकरण अभावनै स्वास्थ्य क्षेत्रको जटिल समस्या रहेको बताउनुभयो । उहाँले अहिले प्रदेश मातहतका अस्पताल समेत मेडिकल अधिकृतको भरमा चलिरहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार, जनशक्ति र उपकरणको अभावबारे प्रदेशले अध्ययन गरिरहेको पनि बताउनुभयो ।

प्रदेश मातहतमा १३ अस्पताल छन् । दुई वटा प्रादेशिक अस्पतालबाहेक अन्य ११ अस्पतालको तत्काल ओएनएम गर्नेगरी प्रदेश सरकार लागि परेको उहाँले बताउनुभयो । यद्यपी प्रदेश सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन प्रयास जारी राखेको स्वास्थ्य मन्त्री खनालको भनाइ छ । उहाँले राप्तीसोनारी अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न नसकेपनि २५ शैयाको अस्पताल बनाएर पूर्वाधार, जनशक्ति र उपकरणमा सहयोग गर्न सकिने विश्वास दिलाउनुभयो।

  • २५ पुष २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech