नेपालगन्जः गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनद्वारा आज नेपालगन्जमा आयोजित बृहत रक्तदान कार्यक्रममा बिद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी १ सय १३ जनाद्वारा रक्तदान गरेका छन् । गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा आयोजित बृहत रक्तदान तथा ई–रिक्सा हस्तान्तरण कार्यक्रम सचिव सुकराम ठाकुरद्वारा सञ्चालित रक्तदान कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र संस्थाका संरक्षक प्रदीप शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट, समाजसेवी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, संस्थाका संरक्षक प्रदीप शाह, नेका बाँके महासमितिका सदस्य निरञ्जन सिंह सिजापति, दैलेखी समाजका अध्यक्ष पूर्ण गिरी लगायतले आ–आफन मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, सुनिता कुमाई, प्रशान्त तिवारी, मनिषा चन्द, केशर सिंह डाँगी र बीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।
सामाजिक काममा निरन्तर लागि परेका गौरवले सबै युवा जनशक्तिलाई एकत्रित गरी संंस्था दर्ता गरेर बृहत रूपमा मानव सेवा गर्ने सोच बनाउनुभएको थियो । दुर्भाग्य समाजमा रहेका विपन्न, गरिब, दुखीलाई केही गर्छु भन्ने महान सोच लिएका गौरव अस्ताए । वि.सं. २०७८ साल असार १ गतेमा मृत्यु भइसकेपछि घरपरिवारले उहाँको सोंचलाई पूरा गर्ने उद्देश्यले गौरवका बुबा तथा संस्थाका सरक्षक प्रदीप शाहले गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेसन वि.सं.२०७८ सालमा दर्ता गर्नुभएको हो ।