जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रूघाखोकी बढी लाग्छ। रूघाखोकी मात्रै होइन, योसँगै एलर्जी पनि हुन्छ। नाकभित्र संक्रमण अर्थात् पिनास हुन्छ। नाकबाट तरल पदार्थ आउने वा बग्नुे र नाक बन्द हुने हुन्छ।
घाँटीमा टन्सिलको समस्याले सास फेर्न गाह्रो भएजस्तो हुन्छ। कसैकसैलाई दमको समस्या पनि अलि बढी हुन्छ। शरीरले एक्कासि चिसो सहन सक्दैन जसले गर्दा जाडो समयमा रूघाखोकी अलि बढी लाग्ने गर्छ।
यसको धेरै अध्ययन त भइसकेको छैन तर जाडोमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अलि चाँडो आक्रमण हुन्छ। रूघाले नाकलाई मात्रै अप्ठ्यारो पारेको हुँदैन। यसले कानमा पनि समस्या पार्छ। कानको सुन्ने शक्तिमा समेत अप्ठ्यारो पार्न सक्छ। रूघाखोकी लाग्दा ज्वरो आउने, खानेकुरा निल्न गाह्रो हुने अनि ज्यान करकर दुख्ने हुन्छ।
रूघाखोकी लाग्दा के गर्ने?
रूघाखोकी कस्तो खालको हो, त्यसको आधारमा उपचार गर्नुपर्छ। प्रायःजसो रूघा लागिरहन्छ भने त्यो एलर्जीले हो। धूलो, ढुसी, चिसोले अनि कसैलाई फूल, कुकुर-बिरालो रौं आदिको एलर्जीले सधैं रूघा लाग्ने हुन्छ। यसका लागि जेबाट एलर्जी भएको हो, त्यहीबाट बच्नु नै पहिलो उपाय हो।
हाम्रो समाजमा जतासुकै मेडिकल छन्। ज्वरो र रूघामा सिटामोल खानु सामान्य हो। तर त्योभन्दा बाहेक एन्टिबायोटिक खाइन्छ। बच्चाहरूलाई कडा औषधि खुवाउने, झोल औषधि अनि भिटामिन पनि दिइन्छ। यसले बिरामीको स्वास्थ्यमा असर पार्छ नै। बच्चाहरूलाई पनि झन् समस्या हुन्छ। त्यस्तो भयो भने बिरामीलाई कडाभन्दा कडा एन्टिबायोटिक खुवाउनुपर्छ।
रूघाखोकीबाट कसरी बच्ने?
रूघाखोकीबाट बच्न बाटोमा हिँड्दा धूलोबाट जोगिने गरी मास्क लगाउनुपर्छ। स्कुल जाँदा र अन्यत्र हिँड्दा जोगिनुपर्छ। साधारण खाले रूघाखोकी घरमै उपचार गर्न सकिन्छ। तर पहेँलो सिँगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या हुने, कानमा पनि समस्या छ भने होसियार हुनुपर्छ। किनकी नाक, कान र घाँटीले एकआपसमा असर पारिरहेका हुन्छन्। बालबालिकाको हकमा त अझै ध्यान दिनुपर्छ।
यदि बालबालिकालाई रूघाखोकी लागेका बेलामा कानमा पनि समस्या देखियो भने चिकित्सककहाँ जानुपर्छ। रूघाखोकी लाग्दा जे पनि बार्नुपर्छ भन्ने छ, त्यो गलत हो। रूघाखोकी लाग्दा खानेकुरा बारिएन भने टाइफाइड हुन्छ भन्ने होइन। झोलिलो र तागतिलो खाना सबै खान हुन्छ। तर एकदमै चिसो, चिल्लो र पिरो खानु हुँदैन।