अहिले देशभर क्रमशः चिसो बढिरहेको छ । मानिसले चिसोबाट जोगिन र शरीरलाई न्यानो बनाउन विभिन्न उपाय अपनाइरहेका हुन्छन् ।
ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपनाउँदा दिनहुँजसो दुर्घटनाका खबर सुनिने गरेका छन् ।
जाडोमा कोठा तातो बनाउन अर्थात् न्यानोपनका लागि हिजोआज इलेक्ट्रिक तथा इन्धनजन्य हिटर प्रयोग गरिन्छ । तर, इलेक्ट्रिक तथा इन्धनजन्य हिटर प्रयोग गर्न नजान्दा मानिसको अनाहकमा ज्यान जाने भएकाले यसको प्रयोगमा सावधानी अपनाउनु पर्छ ।
हिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा :
–इलेक्ट्रिक हिटर प्रयोग गर्दा कोठामा भेन्टिलेसन हुनुपर्छ । हिटर बालिरहेको समयमा झ्याल, ढोका खुला गरिरहनुपर्छ । झ्याल, ढोका बन्द गरेर हिटर ताप्दा जोखिम निम्तिन्छ ।
–राति सुत्नुभन्दा पहिला हिटरलाई बन्द गरेर मात्रै सुत्नुपर्छ । चलिरहेको हिटरलाई समय–समयमा बन्द गरिरहनुपर्छ ।
–श्वासप्रश्वास, मुटु, नियमित खोकी लाग्ने व्यक्तिले सकेसम्म हिटरको प्रयोग गर्नु हुँदैन ।
– बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन ।
–लामो समयसम्म हिटरको प्रयोग गर्दा छाला, आँखालाई समेत सुक्खा बनाउँछ । त्यसैले लगातार धेरै समयसम्म हिटर ताप्नु हुँदैन ।
–धेरै हिटर ताप्दा छालामा समस्या देखिने भएकाले छालामा नियमित चिल्लो पदार्थ लगाउनुपर्छ ।
(जनस्वास्थ्यविद् डा. शरद वन्तसँग गरिएको कुराकानीमा आधारित)