कोहलपुरका स्वास्थ्य संस्थाहरुको अनुगमन

    • स्वास्थ्य पेज

  • ८ पुष २०८०, आईतवार

कोहलपुरः कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका स्वास्थ्य संस्थाहरुको दर्ता तथा नवीकरण भए /नभएको बारे अनुगमन सुरु गरेको छ । सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलिले आज करिव आधादर्जन स्वास्थ्य संस्थाको अनुगमन गरेको छ ।

भेरी कर्णाली अस्पताल, कोहलपुर सिटी, सिजिएन स्वास्थ्य क्लिनिक, कोहलपुर डेन्टल र शुभकामना डेन्टल क्लिनिकका अनुगमन गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिनुुभयो । ती स्वास्थ्य संस्थाहरुले दर्ता तथा नवीकरण गरेर व्यवसाय संचालन गरेको पाइएको पनि पाण्डेले बताउनुभयो । उहाँका अनुसार अनुगमन गरिएका अधिकांश स्वास्थ्य संस्थामा फोहोर व्यवस्थापनमा भने प्रभावकारी भूमिका निर्वाह नगरेको पाइएको भन्दै त्यसलाई सुधार गर्न टोलिले निर्देशन दिएको छ ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा फोहोर व्यवस्थापन चुस्तदुरुस्त हुनुपर्नेमा त्यसतर्फ संचालकहरुको ध्यान पुग्न नसेकेको भन्दै टोलिले सुधारका लागि निर्देशन दिएको हो । त्यसैगरी मापदण्ड अनुसार स्वास्थ्य संस्थाहरुले पालना गर्नुपर्ने कुराहरुमा पनि उनीहरुको ध्यान पुग्न नसकेको भन्दै टोलिले त्यसतर्फपनि सचेत बनाएको छ ।अधिकांश स्वास्थ्य संस्थाहरुले नागरिक वडापत्र समेत नराखेको पाइएपछि तत्काल राख्न निर्देशन दिइएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो।

अनुगमन टोलिमा कोहलपुर नगर अस्पतालका डा.रवि शर्मा वाग्ले, जनस्वास्थ्य निरीक्षक अनिलसिंह ठकुरी, प्रेम पाण्डे, नर्सिङ स्टाफ लोकमाया भारती, आयुर्वेद केन्द्र प्रमुख उदिप श्रेष्ठ, ल्याव टेक्निसियन लक्ष्मी अधिकारी, रेडियोग्राफर मिलन शाही लगायत सहभागी हुनु भएको थियो । टोलिले नगरक्षेत्र भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको अनुगमन गर्ने जनाएको छ ।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech