नेपालगन्जः राप्तीसोनारी गाउँपालिका–३ भवनीयापुरमा जेष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य सेवा प्रर्वधन कार्यक्रम गरिएको छ । राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा जेष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य सेवा प्रर्वधन कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा १७८ जना जेष्ठ नागरिकले सेवा लिएका थिए । ९४ जना महिला र ८४ जना पुरुषले सेवा लिएको केन्द्र प्रमुख अञ्जना थारुले जानकारी दिनुभयो ।
उनीहरुको स्वास्थ्य चेकजाँचसँगै स्वास्थ्य प्रद्र्धक औषधी वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले अश्र्वगन्धा, आमलकी चुर्ण, दसमूल लगायतका इम्युनिटी पावर बढाउने खालका औंषधी वितरण गर्नुभएको हो । उहाँले जेष्ठ नागरिकहरुलाई रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउने आयुर्वेदिक औंषधी वितरण गरिएको जानकारी दिनुभयो । जेष्ठ नागरिकको स्वास्थ्यका लागि पालिकाले स्वास्थ्य सेवा प्रर्वधन कार्यक्रम गरेको उहाँले जानकारी दिनुभयो ।
नागरिक आरोग्य सेवा केन्द्रले चालू आर्थिक वर्षको पहिलो कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई लक्षित स्वास्थ्य सेवा प्रर्वधन कार्यक्रम गरेको केन्द्र प्रमुख थारुले बताउनुभयो । उहाँका अनुसार यो आर्थिक वर्षमा विद्यालय आयुर्वेदिक तथा योग शिक्षा कार्यक्रम, सुत्केरी आमाहरुलाई दुग्ध प्रवर्धक औंषधी वितरण, निशुल्क आयुर्वेद स्वास्थ्य शिविर, योग शिविर, स्वास्थ्य जीवनशैली जस्ता कार्यक्रम केन्द्रले गर्ने योजना बनाएको छ ।
पालिकाले त्यसका लागि यो आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य शाखाले पाँच र पालिकाले १० गरी १५ लाख बजेट केन्द्रले प्राप्त गरेको थारुले बताउनुभयो । स्वास्थ्य सेवा प्रवर्धन कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष मीनबहादुर चौधरीको अध्यक्षतामा भएको हो ।