उफ ! नेपालगन्जमा माछा-मासु खानै जोखिम

    • स्वास्थ्य पेज

  • ५ पुष २०८०, बिहीबार

नेपालगन्जः के तपाई नेपालगन्जमा माछा-मासु किन्दै हुनुहुन्छ । होस् गर्नुस् सडेको र खान नमिल्ने अस्वस्थकर माछा-मासु पर्ला नि ? संयुक्त बजार अनुगमन टोलिले आज नेपालगन्जका आधादर्जन बढी माछा-मासु पसलको अनुगमन गर्दा अधिकांश पसलहरुमा अस्वस्थकर माछा-मासु भेटिएको छ । टोलिले नेपालगन्जको जमुनाह, जयसपुर, धम्वोजी र गणेशमान चोक आसपासका माछा-मासु पसलको अनुगमन गर्दा अधिकांश पसलमा अस्वस्थकर माछा-मासु फेला परेको हो । अनुगमन टोलि पुग्दा अस्वस्थकर माछा-मासु विक्री गर्ने संचालकहरु भागाभाग भएका थिए ।

सातवटा मासु पसलको अनुगमनका क्रममा सवैमा कैफियत देखिएको टोलिले जनाएको छ । गणेशमान चोकस्थित सुफिया हाउसमा २९ किलो खान अयोग्य माछा साढे दुई किलो सडेको कुखुराको मासु, तीन किलो प्रतिवन्धित मंगुर जातको माछा टोलिले बरामद गरेको छ । विजक जारी नगरी कारोवार गरेको भन्दै सुफिया हाउसलाई ५ हजार जरिवाना समेत गरिएको छ । त्यस्तै जमुनाह जयसपुर स्थित मोहम्मद सोफियान फ्रेश हाउसबाट सडेको अवस्थामा खसीको ७ किलो मासु पनि टोलिले बरामद गरेको छ । उक्त पसललाई २० हजार जरिवाना गरिएको छ ।

यस्तै अल्लाह फ्रेस हाउसमा अनुगमन गर्दा सरसफाइको अवस्था नाजुक देखिएपछि १० हजार जरिवाना गरिएको छ । यसैगरी अनुगमन टोलि पुग्दा संचालकहरु पसल छाडेर भागेका थिए । आलम मिट पसल र आलिया फ्रेश हाउसका संचालक पसल बन्द गरेर भागेको टोलिले जनाएको छ । यसैगरी धम्वोजीको हाम्रो फ्रेस हाउसमा अनुगमन गर्दा १० किलो खसीको र ३ किलो कुखुराको सडेको मासु फेला परेको छ । टोलिले उक्त मासु नष्ट गर्दै पसललाई २० हजार जरिवाना तिराएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वय, विषयगत कार्यालय, उपभोक्ता अधिकारकर्मी र संचारकर्मीको टोेलिले माछा/मासु अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालयका प्रमुख कमला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख विष्णु प्रसाद धिताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकी, भेटेरीनरी निरक्षक डा.शंकर न्यौपाने, जिल्ला प्रशासन कार्यालय बाँकेका नायव सुब्बा वेदेश्वर गौतम, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका नायव सुब्बा डम्वर बुढा, पशु क्वारेन्टाइन कार्यालयका पशु स्वास्थ्य प्राविधिक इन्द्र रेग्मी, उपभोक्ता अधिकारकर्मी बसन्त गौतम, कृषि पत्रकार संघका अध्यक्ष खगेन्द्र दाहाल लगायतको टोलिले अनुगमन गरेको थियो ।

  • ५ पुष २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech