राप्तीसोनारीमा सिकलसेलका रोगी खोज्न पुस १६ गतेदेखि ‘स्क्रिनिङ’

६ र ८ गते स्वास्थ्य शिविर


    • स्वास्थ्य पेज

  • ३ पुष २०८०, मंगलवार

नेपालगन्जः राप्तीसोनारी गाउँपालिकाले विशेषगरी थारु समुदायलाई प्रभावित पार्दै आएको सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान गर्न स्क्रिनिङ कार्यक्रमलाई प्रभावकारी गराउने भएको छ । चालू आर्थिक वर्षमा दुई वटा वडाका लक्षित सबै उमेर समूहका व्यक्तिहरुको सिकलसेल जाँच गर्ने तयारीमा पालिका रहेको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताउनुभयो । उहाँका अनुसार यही पुस १६ गतेदेखि सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान गर्न स्क्रिनिङ कार्यक्रम सुरु गर्न लागिएको छ । चालू आर्थिक वर्षमा वडा नं.१ र २ का लक्षित समुदायका सम्पूर्ण नागरिकहरुको स्क्रिनिङ गर्ने गरी पािलका लागेको पालिका अध्यक्ष पौडेलले बताउनुभयो ।

यसअघि पालिकाले निश्चित उमेर समुहका व्यक्तिहरुको सिकलसेल जाँच गरेको थियो । ‘अघिल्ला वर्षहरुमा खासगरी विद्यार्थीहरुलाई केन्द्रीत गरेर सिकलसेल चेकजाँच गरिएको थियो उहाँले भन्नुभयोे–‘चालू आर्थिक वर्षमा भने वडा नं.१ र २ का लक्षित समुदायका सवै उमेर समूहका व्यक्तिहरुको सिकलसेल चेकजाँच गर्ने गरी तयारी गरेका छौं । क्रमशः सवै वडाका जोखिम प्रभावित व्यक्तिहरुको सिकलसेल जाँच गरेर पालिकाबाट यो रोगको फैलावट रोक्ने प्रयास हाम्रो हो ।’ पालिकामा ७० हजारको हाराहारीमा जनसंख्या छ । त्यसमा करिव ३५ हजारको हाराहारीमा थारु समुदायको बसोबास रहेको बताइन्छ । थारु समुदायका सबै व्यक्तिहरुको सिकलसेल एनिमिया र थालेसेमिया चेकजाँच गर्ने योजना पालिकाको रहेको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

सिकलसेलका बिरामीहरु खोज्नका लागि पनि स्क्रिनिङ कार्यक्रम जरुरी रहेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालय बाँकेसँगको सहकार्यमा पालिकाले सिकलसेल रोगको पहिचान, उपचार र निदानका लागि काम गर्दै आएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार राप्तीसोनारीमा विगत तीन वर्षदेखि स्क्रिनिङको काम भइरहेको छ । ०७८-०७९ मा ३३ जना सिकलसेलका बिरामी फेला परेका थिए भने ०७९-०८० मा १२ जना सिकलसेलका बिरामी फेला परेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म राप्तीसोनारीका ३, ४ र ५ नम्वर वडामा स्क्रिनिङ कार्यक्रम गरिएको छ ।

करिव पाँच हजार जनामा सिकलसेल एनिमिया चकेजाँच गर्दा ती रोगी भेटिएका हुन् । पालिकाले सिकलसेल रोगको पहिचान र निदानका लागि चालू आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उक्त रकमबाट वडा नं.१ र २ मा स्क्रिनिङ कार्यक्रम गर्न लागिएको हो । थारु समुदायलाई प्रभावित पार्दै आएको वंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान र निदानका लागि पालिकाले प्रदेश सरकारसँग पनि समन्वय र सहकार्यको पहल गर्ने पालिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले सिकलसेलको स्याम्पल कोहलपुरमा चेकजाँच गर्ने योजना रहेको पनि सुनाउनुभयो ।

कोहलपुर नगरपालिकाको आफ्नै सिकलसेल ल्याव छ । त्यसका लागि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यसँग समन्वय र सहकार्य भइरहेको पनि उहाँले सुनाउनुभयो । आगामी पुस १६ गतेदेखि सुरु गरिन लागिएको स्क्रिनिङ कार्यक्रमको तयारीबारे मंगलवार पालिका अध्यक्ष पौडेल, स्वास्थ्य शाखा प्रमुख केसी र स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठ लगायतकाबीचमा छलफल र परामर्श गरिएको छ । स्क्रिनिङ कार्यक्रमलाई प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने विषयमा पालिका अध्यक्ष पौडेलसँग छलफल गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

६ र ८ गते स्वास्थ्य शिविर

राप्तीसोनारी गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ४० वर्ष उमेर माथिका नागरिकलाई लक्षित गरेर यही पुस ६ र ८ गते स्वास्थ्य शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ गते आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्ज र ८ गते विनौना स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको छ । मधुमेह तथा उच्च रक्तचाप सम्वन्धी शिविर गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

‘सुगर, प्रेसर र मिर्गौला रोगको स्क्रिनिङ शिविर गर्न लागिएको हो उहाँले भन्नुभयोे–‘नसर्ने रोगको बारेमा सचेतना र परामर्शको सन्देश प्रवाह गर्न पनि शिविरले ठुलो सहयोग पुर्याउने छ भन्ने विश्वास छ ।’ पछिल्लो समय नसर्ने रोगका कारण मानिसको मृत्युवरण अस्वभाविकरुपमा बढ्दै गएको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार अस्वस्थ खानपिन, बदलिदो जीवनशैली लगायतका कारणले मानिसहरु नसर्ने रोगको शिकार भइरहेका छन् ।

  • ३ पुष २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech