नेपालगन्जः काठमाडौंस्थित अन्नपूर्ण अस्पतालसँगको सहकार्यपछि नेपालगन्ज मेडिकल कलेजमा न्यूरो सम्वन्धी जटिल खालका शल्यक्रियाहरु सफलतापूर्वक हुन थालेका छन् । नेपालगन्ज र कोहलपुर दुवै मेडिकल कलेजमा अन्नपूर्ण अस्पतालका न्यूरोसर्जनको टिमले नेतृत्व गरेर सेवालाई स्तरीय बनाएसँगै न्यूरो सेवा प्रभावकारी बन्दै गएको हो ।
पश्चिम नेपालका बिरामीलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ यतिबेला अस्पतालका न्यूरो विभागको अन्नपूर्ण अस्पतालकै हाराहारीमा सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण अस्पतालबाट नेपालगन्ज मेडिकल कलेजमा खटिनु भएका न्यूरोसर्जन डा.मनिष वलाकक्षपतिले जानकारी दिनुभयो । यसैक्रममा नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्जमा एकजना शिशुको नसा सम्वन्धी जटिल खालको शल्यक्रिया गरिएको छ ।
जाजरकोट कुशे नगरपालिका–३ का ६ दिन ती बालकको अस्पतालको न्यूरोसर्जन टिमले सफलतापूर्वक शल्यक्रिया गरेको न्यूरोसर्जन डा.वलाकक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार ती बालकको मेरुदण्ड भित्र हड्डीमा टाँसिनु पर्ने नशाहरु छाला बाहिर निस्केर गुजोल्टो परेका थिए । मेडिकल भाषामा Spina bifida र Meningomyelocele भनिने उक्त शल्यक्रिया सफलतापूर्वक भएपछि बिरामीका आफन्तपनि खुसी भएका छन् । कार्तिक ३० गते जन्मिएकी शिशुको पछाडीको भागको छाला बाहिर नशाहरु गुजुल्टो परेको देखेपछि आमा सीता शाहीले भेरी अस्पतालमा पुर्याउनुभएको थियो ।
दुई दिन अस्पतालमा राखेपछि भेरीका चिकित्सकहरुले शिशुको अवस्था जटिल देखाउँदै लखनउ कि त काठमाडौं लैजान सुझाव दिए । मंसिर ४ गते सीताले नवजात शिशुलाई नेपालगन्ज मेडिकल कलेजमा पुर्याउनुभयो । चिकित्सकहरुले शल्यक्रिया गर्न सुझाव दिए । मंसिर ८ गते ती शिशुको सफलतापूर्वक शल्यक्रिया भएको हो ।
अहिले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको न्यूरोसर्जन डा. वलाकक्षपतिले जानकारी दिनुभयो । यही शल्यक्रिया गर्न काठमाडौं वा लखनउ लगेको भए बिरामीको दोब्बर बढी खर्च लाग्ने चिकित्सकहरु बताउँछन् । घर नेपालगन्ज मेडिकल कलेजमा न्यूरो सेवा प्रभावकारी बनेसँगै बिरामीहरुले छिटोछरितो र कम खर्चमा सेवा पाइरहेका छन् ।