नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस्ता शल्यक्रियाहरु अस्पतालमा हुने गरेको भएपनि सफलता भने निकै कम प्राप्त भइरहेको अवस्थामा न्यूरोसर्जनत्रय डा.मनिष बलाकक्षपति, डा.निरज घिमिरे र डा.सुवोध गोतमको टोलिले भजनी नगरपालिका–२ कैलालीका ४३ वर्षीय अट्वारी चौधरीको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
यसअघि यस्तै समस्या भएका दाङ दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको पनि सफलतापूर्वक शल्यक्रिया गरिएको थियो । गएको साउन १४ गते शल्यक्रिया गरिएकी खगा साउन २८ गते अस्पतालबाट डिस्चार्ज हुनु भएको थियो । र, उहाँको सवास्थ्य अवस्था पहिलेको जस्तै स्वस्थ रहेको पारिवारिक स्रोतले बताएको छ ।
चौधरीको समस्या श्रेष्ठ भन्दा जटिल थियो । चौधरीलाई गएको असोज ३० गते ब्रेन एन्यूरिज्मको लक्षण देखिएको थियो । एक्कासी टाउको दुखेपछि उहाँले मेडिकलबाट औंषधि खानुभएको थियो । सन्चो नभएपछि चौधरीलाई धनगढी स्थित नवजीवन अस्पतालमा पुर्याइएको थियो । तर, चिकित्सकले अवस्था जटिल भनेपछि काठमाडौं की लखनउ लैजान सुझाव दिए । परिवारले लखनउको स्टार हस्पिटलमा लगे । चार पाँच दिन स्टार अस्पताल राखेपछि चिकित्सकले मेजर शल्यक्रिया गर्नुपर्ने र ४–५ लाख भारतीय रुपैयाँ लाग्ने भनेपछि चौधरीलाई लखनउबाट फर्काएर मंसिर ६ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको उहाँका जवाई बासुदेव चौधरीले बताउनुभयो । न्यूरोसर्जन मनिष नेतृत्वको टोलिले मंसिर १३ गते चौधरीको ५ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरेको हो । शल्यक्रिया पछि चौधरीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
‘यो निकै जटिल र दुर्लभ केस हो न्यूरो सर्जन डा. मनिषले स्वास्थ्य पेजलाई भन्नुभयो–‘शल्यक्रिया भएपनि सफलता कमै प्राप्त हुन्छ तर हाम्रो टिमले शल्यक्रिया गर्यो । र, सफल पनि भयौं ।’ ‘ब्रेन एन्यूरिज्म’को समस्या भएका करिब ५० प्रतिशत बिरामीको समयमा अस्पताल नपुयार्उँदा र कतिपयको समयमै अस्पताल पुर्याए पनि उपचार जारी रहेको बेला र उपचारपछि पनि ज्यान जाने जोखिम रहने न्यूरो सर्जन डा. निरज घिमिरेले बताउनुभयो । चुरोट सेवन गर्ने र उच्च रक्तचापका बिरामीमा ब्रेन एन्यूरिज्मको जोखिम रहने चिकित्सकहरु बताउँछन् । तर ‘ब्रेन एन्यूरिज्म’का अधिकांश बिरामीमा पूर्व लक्षण देखिँदैन ।
कसैकसैले एक–दुई हप्ता अगाडि टाउको दुखेको अनुभव सुनाउँछन् । यदि नसा फुटिसकेको रहेछ भने बिरामीलाई असह्यै हुने गरी बेस्सरी टाउको दुख्ने र बेहोस् हुने हुन्छ । यदि टाउको दुख्यो भने सामान्य रुपमा नलिइ चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । चिकित्सकको सल्लाहविना आफूखुसी दुखाइ कम गर्ने औषधि खाएमा बिरामीको अवस्था झन् जटिल हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुले अस्पतालमा सीटी एनजीओग्राफी गरेर मस्तिष्कको अवस्था हेर्छन् । यदि नसा फुटेको पाइए अप्रेशन गरेर उपचार गरिन्छ । ‘प्रायजसो यस खालको समस्या पत्ता नै नलागेर अधिकांश बिरामीहरुको मृत्यु हुने गर्दछ ।
रोग पत्ता लगाइहाले पनि प्रयाप्त स्रोत साधन र जनशक्ति अभावले बिरामीहरुको जीवन समाप्त हुन्छ,’ अर्का न्यूरोसर्जन डा. सुवोध गौतम भन्नुहुन्छ्, ‘सफल अप्रेशनपछि बिरामीको ज्यान जोगाउन सफल भयौं ।’ शल्यक्रिया टिममा न्यूरोसर्जन त्रय डा.मनिष, डा.निरज र डा.सुवोध सहित डा.अम्विका झा, एनेस्थेसियोलोजिष्ट डा.नवीन रेग्मी र डा.कपिल पोख्रेल, न्यूरो विभागका असिस्टेन्ट अर्शद खान, स्टाफनर्सन रोशनी बस्नेत लगायत सहभागि हुनु भएको थियो ।
नेपालगन्ज मेडिकल कलेजले काठमाडौंस्थित अन्नपूर्ण अस्पताल (अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेस)सँगको सहकार्यमा नेपालगन्ज र कोहलपुरमा न्यूरो सेवा दिन थालेपछि जटिल खालका शल्यक्रिया हुन थालेका छन् । पश्चिम नेपालका बिरामीलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिइएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कुमार अधिकारीले बताउनुभयो । संयुक्त रुपमा सञ्चालन भएको न्यूरो साइन्स विभागको ओपिडी, वार्ड, सघन उपचार कक्षदेखि प्रेस्किप्सनमा समेत अन्नपूर्ण अस्पतालसँगको सहकार्य रहेको उहाँको भनाइ छ ।