प्रियास्मृति ढकाल ।
नेपालगन्जःपार्वती कुमारी थारुलाई शरीर चिलाउने समस्या छ । उहाँलाई प्रेसर पनि छ । राप्तीसोनारी गाउँपालिका–४ बैजापुरस्थित राप्तीसोनारी अस्पतालमा उपचारका लागि पुग्नु भएकी स्थानीय ४१ वर्षीया पार्वतीलाई घरछेउमै अस्पताल हुँदा सहज भएको अनुभूति सुनाउँदै भन्नुभयो–‘राप्तीसोनारी अस्पताल नभएको भए सायद चेकजाँचका लागि कोहलपुर की नेपालगन्ज जानु पथ्र्यो ।’ घरछेउछाउमा अस्पताल हुँदाको सहजता मीना थारुलाई पनि छ । तल्लो पेट दुख्ने र महिनावरी गडबडी समेत हुने समस्या झेल्दै आउनु भएकी उहाँ स्वास्थ्य परामर्शसँगै उपचार गर्न राप्तीसोनारी अस्पतालमा पुग्नुभयो । ‘अस्पतालमा डाक्टरनै बस्ने भएकाले धेरै सहज भएको छ उहाँले भन्नुभयो–‘समस्याबारे डाक्टरसँग परामर्श लिन्छु यहींको उपचारले ठिक भइहाले राम्रो भइहाल्यो । यदी डाकटर सावले नेपालगन्ज जानु पर्छ भने उत्तै (नेपालगन्ज) जानु पर्ला ।’
पार्वती र मीनामात्र हैन पछिल्लो समय राप्तीसोनारी अस्पतालमा ओपिडी सेवा लिनेको संख्या बढ्दै गएको छ । अपतालले आफ्नो सेवा प्रवाहलाई स्तरीय बनाएसँगै सेवाप्रवाहमा गुणस्तरीता थपिएको अनुभूति स्थानीयले गर्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ रिहारडाँडाका ३१ वर्षीय सन्तोष कुमार बर्माले सामान्य समस्या हुँदा नेपालगन्ज धाउनु पर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । पेटको समस्या लिएर अस्पताल पुगेका उहाँले सामान्य रुघाखोकी, पेट दुख्ने, टाइफाइड, मौसमी ज्वरोजस्ता समस्याका लागि नेपालगन्ज जानु पर्ने अवस्था अव नरहेको सुनाउनुभयो । ‘स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि अत्तालिएर नेपालगन्ज जानु पर्ने अवस्था थियो उहाँले भन्नुभयोे–‘अस्पतालका डाक्टरहरुनै बस्न थालेपछि परामर्श लिएरमात्रै निर्णय लिने गरेको छु ।’
सन्तोषको जस्तै भनाइ छ संगीता थारुको पनि । राप्तीसोनारी अस्पतालको सेवा प्रवाह राम्रो भएकै कारण आफु उपचारको लागि अस्पताल आएको बताउनुभयो । उहाँलाई रुघाखोकी र ज्वरो आएको छ । इमरजेन्सी वार्डमा भेटिएकी उहाँले छिटो छरितो पनि हुने र ल्याव तथा एक्स रे सेवा समेत हुन थालेपछि धेरै सहज भएको बताउनुभयो । ‘छिटोछरितो सेवा पाइने, नेपालगन्ज आउन जान झन्झटबाटपनि मुक्त, पैसाको समेत बचत हुने भएपछि यो भन्दा सहज हाम्रो लागि अरु के हुन सक्छ ?’ उहाँले भन्नुभयो । राप्तीसोनारी अस्पतालमा मेडिकल अधिकृतबाट सेवा दिन थालिएपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो ।
हिंजोआज दैनिक ४०–५० जना बिरामीहरु बहिरङ्ग (ओपिडी) सेवा लिन आउने गरेको अस्पतालका मेडिकल अधिकृत डा.राम साहले बताउनुभयो । उहाँका अनुसार सुगर, थाइरायड, टाइफाइड, ग्याष्ट्रिक, मौसमी रुघाखोकी, एलर्जी, छाला सम्वन्धी समस्या भएका बिरामीहरु आउने गरेका छन् । ‘स्वभाविकरुपमा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ उहाँले भन्नुभयोे–‘यहाँ आउने अधिकांश बिरामीमा सुगर, थाइराइड, दम, मौसम प्रभाव समस्या देखिएका छन् ।’ अस्पतालले ओपिडी सेवा, ल्याव, एक्स रे, भिडियो एक्स रे लगायतका सेवाहरु दिँदै आएको छ । त्यसैगरी चौविसै घण्टा इमरजेन्सी र डेलिभरी सेवा समेत प्रवाह गर्दै आएको उहाँले बताउनुभयो ।
अस्पतालले दुईवटा ओपिडी सेवा दिने गरेको छ । पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गरेर एउटा र अर्को पाँच वर्षमाथिका सवै उमेर समूहलाई लक्षित गरेर ओपिडी सेवा दिने गरिएको डा. साहले बताउनुभयो । उहाँका अनुसार अस्पतालसँग आफ्नै एम्वुलेन्स छ । जटिल खालका बिरामीलाई रिफर गर्ने गरिएको छ । अस्पताल प्रमुख समेत रहेका डा.साहले अस्पतालको सेवालाई थप स्तरीय बनाउने गरी काम भइरहेको सुनाउनुभयो । अस्पतालले तत्काल आँखा जाँच सेवा समेत संचालन गर्ने तयारी गरेको छ । तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आगामी महिनाभित्रै देखि आँखा उपचार सेवालाई समेत अगाडि बढाउने तयारीमा अस्पताल रहेको उहाँको भनाइ छ । उहाँले अस्पतालले आफ्नै फार्मेसी सेवा समेत सन्चलानको तयारी गरेको छ ।
चालू आर्थिक वर्षको हालसम्म ६ हजार बिरामीलाई सेवा दिइएको उहाँको भनाइ छ । दुई जना मेडिकल अधिकृत, स्टाफ नर्स, अनमीसहित अस्पतालसँग २५ जना जनशक्ति छन् । ‘बिरामीको चापको आधारमा अहिलेलाई जनशक्ति पर्याप्त छ उहाँले भन्नुभयोे–‘सेवाहरु थप विस्तार हुँदै गएपछि जनशक्ति थप्नु पर्ने अवस्था आउन सक्छ ।’ राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले अस्पतालको स्तरबृद्धिका लागि पालिकाले पहल गर्दै आएको बताउनुभयो । राप्तीसोनारीका स्थानीयबासीको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्नका निमित्त पालिका हरसम्भव प्रयास गर्दै आएको उहाँको भनाइ छ । पालिकाका अन्य वडामा रहेका स्वास्थ्य संस्थालाई समेत स्तरीय बनाउने योजनाका साथ पालिका लागि परेको पनि पौडेले बताउनुभयो ।